२१ कार्तिक,काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले नोभेम्बर १४ मा मनाइने विश्व मधुमेह दिवस र नोभेम्बर १७ मा मनाइने समय अघिनै जन्मिएका शिशु दिवसको अवसरमा सप्ताहव्यापी विशेष कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रम नोभेम्बर ८ देखि १६ सम्म सञ्चालन हुनेछ, जसमा सचेतना र्याली, निःशुल्क आँखा परीक्षण, शैक्षिक कार्यक्रम, बिरामी–परिवार–चिकित्सक अन्तरक्रिया, योग र जुम्बा लगायत गतिविधि समावेश छन् ।
प्रतिष्ठानले मधुमेह र समयपूर्व जन्मिएका शिशुमा दृष्टि गुम्ने जोखिम उच्च हुने भएकाले नियमित आँखा परीक्षण र समयमै उपचार अत्यावश्यक रहेको जनाएको छ । साथै, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रतिष्ठानले आर्थिक रूपमा कमजोर बिरामीका लागि सहुलियत सेवा प्रदान गर्दै रोकथाम गर्न सकिने अन्धोपन विरुद्धको अभियानमा स्वास्थ्यकर्मी र संस्थाहरूको सहकार्यको आह्वान गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend