गलकोट (बागलुङ) रास्वपा नेता टेक बहादुर पुन मगरले अबको रास्वपाको यात्रा “स्वावलम्बन र उत्पादनमुखी अर्थतन्त्र” तर्फ निर्देशित हुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गलकोट नगरपालिका–१०, पाण्डबखानीको पहिलो वडा अधिवेशनलाई सम्वोधन गदै उनले यस्तो कुरा बताएका हुन ।
नेता पुन मगरले भने, “अबको रास्वपा र तिनका नेता–कार्यकर्ता आत्मनिर्भर बन्नुपर्छ । पार्टीले कसैलाई माछा दिएर होइन, माछा मार्ने बल्छी दिएर सशक्त बनाउनेछ । कसैलाई कुखुरा दिएर होइन, कुखुरा पाल्ने दाना दिएर दीगो आम्दानीतर्फ उन्मुख गराउनेछ ।” उनका अनुसार रास्वपाको नीति देशभर स्वावलम्बन, उत्पादन र उद्यमशीलता विकासमा केन्द्रित रहनेछ ।
उनले गाउँबाटै आर्थिक समृद्धिको बाटो खोज्नुपर्ने बताउँदै थपे, “हामीले अब कृषि क्रान्ति गर्नुपर्छ, पर्यटनको नयाँ ढोका खोल्नुपर्छ । हरेक वडामा कृषि केन्द्र स्थापना गरी युवा कृषकहरूलाई प्रविधि, तालिम र पूँजी पहुँच उपलब्ध गराउनुपर्छ । रास्वपाले त्यसका लागि योजना र नीति बनाउँदैछ ।”
उनले गलकोट नगरपालिका र सम्पूर्ण बागलुङ जिल्लालाई रास्वपाको “मोडेल जिल्ला” बनाउने संकल्पसमेत गरे । “बागलुङलाई नमुना जिल्ला बनाउने हाम्रो लक्ष्य हो — जहाँ गाउँलेहरू विदेशको सपना होइन, आफ्नै गाउँमा रोजगारी र आम्दानी देखून् । अब देश विकासको बाटो गाउँबाटै सुरु हुन्छ,” पुन मगरले भने ।
उनले शिक्षित युवालाई कृषि, पशुपालन, पर्यटन, साना उद्योग र नवप्रवर्तनमुखी व्यवसायमा जोडिन आग्रह गरे । “देश निर्माणका लागि युवाहरूले विदेश जान छोडेर आफ्नै गाउँमा केही गर्नुपर्छ । पार्टी त्यसका लागि आवश्यक सहयोग र मार्गदर्शन गर्न तयार छ,” उनले बताए ।
अधिवेशनमा गाउँका विभिन्न सामाजिक विषयमा पनि छलफल गरिएको थियो । वक्ताहरूले स्थानीय स्तरमै सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडा सभापति यामलाल वुढाको अध्यक्षता र गण्डकी प्रदेश संगठन विभाग सदस्य खिमानन्द पौड्यालको प्रमुख आतिथ्य रहेको थियो । अधिवेशनले नयाँ कार्यसमिति गठन गरी आगामी वर्षका लागि संगठन सुदृढीकरण, जनसंपर्क विस्तार, कृषि र पर्यटन प्रवर्द्धनका एजेन्डा पारित गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend