३० असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) गलकोट नगरपालिका–१०, पाण्डबखानीमा पहिलो पटक वडा अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिवेशन तथर्थ समिति सभापति यामलाल वुढाको अध्यक्षतामा र गण्डकी प्रदेश संगठन विभागका सदस्य खिमान्द पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
अधिवेशनले सर्वसम्मत निर्णयमार्फत याम वुढाको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति गठन गरेको छ। नयाँ कार्यसमितिमा तिल श्रीस उपसभापति, उत्तम काउछा सचिव, यामुना पुन कोषाध्यक्ष तथा मनिषा विकसहित अन्य आठ जना सदस्य चयन भएका छन्। कार्यक्रमको प्रारम्भमा टेकबहादुर पुनले स्वागत मन्तव्य दिँदै रास्वापाको नीति, दृष्टिकोण र स्थानीय संरचनाको विस्तारमा सबैको सहकार्यको अपेक्षा व्यक्त गर्नु भएको थियो ।
अधिवेशनमा गलकोट नगर सभापति राजेन्द्र पुन, बडिगाड गाउँपालिकाका सभापति रमेश घिमिरे, जैमुनि नगरपालिकाका सभापति राजेन्द्र शर्मा, नेता ढालेन्द्र रायमाझी, सुनिता विसी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले शुभकामना मन्तव्यमा रास्वापाको जनमुखी राजनीति र नयाँ पुस्ताको नेतृत्व क्षमतालाई प्रशंसा गर्दै संगठन विस्तारलाई समयको आवश्यकता बताए।
मुख्य अतिथि खिमान्द पौड्यालले आफ्नो सम्बोधनमा वडा स्तरदेखि नै संगठन सुदृढीकरण र सदस्य विस्तारमा जोड दिँदै स्थानीय विकास, सेवा प्रवाह र जनसरोकारका कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँका अनुसार रास्वापा केवल राजनीतिक दल मात्र नभई सामाजिक उत्तरदायित्व बोध गर्ने समुदायमूलक अभियान पनि हो।
कार्यक्रमको सञ्चालन सालिग्राम गौतमले गर्नुभएको थियो। अधिवेशनले नयाँ ऊर्जाका साथ गलकोट–१० पाण्डबखानीमा रास्वापाको संगठनात्मक यात्राको नयाँ पाना सुरु गरेको सहभागीहरूको भनाइ थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend