३० असोज, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले हालको आर्थिक अस्थिरता र जेनजी आन्दोलनका कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई तत्काल रिफाइनान्सिङको व्यवस्था मिलाउन सरकार र राष्ट्र बैंकसँग आग्रह गरेका छन् ।
नेपाल हस्तकला महासंघको ४५ औं वार्षिक साधारण सभामा बोल्दै मल्होत्राले भने, “अहिलेको अवस्थाबाट उद्योगी उठाउन र अर्थतन्त्रलाई पुनः गतिमा ल्याउन रिफाइनान्सिङको विशेष योजना आवश्यक छ ।” उनले थपे, “यो सामान्य संकट होइन, यो उद्योग र उत्पादनको मेरुदण्ड नै कमजोर बनाउने खालको समस्या हो, जसलाई गम्भीररूपमा लिनु आवश्यक छ ।”
मल्होत्राले हालको आर्थिक संकटलाई भूकम्प वा कोभिड–१९ पछिको अवस्थासँग तुलना गर्दै भने, “भूकम्प र कोभिडले उत्पादन र वितरण प्रणालीमा क्षति पुर्यायो, तर अहिलेको समस्या मनोवैज्ञानिक र संरचनागत हो । बजारमा पैसा त छ, तर विश्वास हराएको छ ।”
उनका अनुसार सरकारले अहिलेको अवस्थालाई प्राथमिकतामा राखेर पुनरुत्थानका नीति बनाउन जरुरी छ । “उद्योगी व्यवसायी अहिले ब्याजदर, मागको कमी, र राजनीतिक अनिश्चितताबाट दोहोरो मारमा परेका छन् । राष्ट्र बैंकले बेस रेटमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्छ,” उनले स्पष्ट गरे ।

वरिष्ठ उद्योगी मल्होत्राले अहिलेको संकटको मूल कारणमा दुईवटा कुरा प्रमुख रहेको बताए—देशको पूँजी विदेश पलायन हुनु र दक्ष जनशक्ति बाहिरिनु । उनका अनुसार, “पहिलो, देशमा भएको पैसा अहिले सुरक्षित स्थान खोज्दै विदेशतिर पलायन भइरहेको छ । दोस्रो, काम गर्न सक्षम र दक्ष युवा वर्ग विदेश जाँदै छन् ।”
उनले आँकडा प्रस्तुत गर्दै भने, “अहिले करिब ११ लाख युवा वैदेशिक रोजगार र विद्यार्थी भिसामा विदेश गइसकेका छन् । यसले नेपालको उत्पादनशक्ति घटाएको छ, श्रम बजारमा खालीपन ल्याएको छ, र भविष्यको आर्थिक इन्जिन नै कमजोर पार्ने खतरा बढाएको छ ।”
मल्होत्राले युवाशक्ति र पूँजीलाई देशभित्रै लगानीमुखी बनाउन सरकारको नीतिगत हस्तक्षेप आवश्यक रहेको भन्दै भने, “रोजगार सिर्जना र लगानी प्रोत्साहनका कार्यक्रम तत्काल सुरु हुनुपर्छ । सरकार र निजी क्षेत्र मिलेर काम गरे मात्र यो संकट पार गर्न सकिन्छ ।”
कार्यक्रममा उपस्थित अन्य उद्योगी व्यवसायीहरूले पनि हालको जेनजी आन्दोलनपछि उद्योग, पर्यटन, हस्तकला र निर्यात क्षेत्रमा देखिएको सुस्त गतिलाई सम्बोधन गर्न तत्काल सरकारी कदमको माग गरे ।
नेपाल हस्तकला महासंघका पदाधिकारीहरूले पनि उद्योग क्षेत्रका समस्या समाधानका लागि सहुलियतपूर्ण ऋण, निर्यात प्रवर्द्धन र आन्तरिक बजार विस्तारका नीति लागू गर्न आग्रह गरे ।
मल्होत्राले अन्त्यमा जोड दिए, “यदि सरकारले अहिले ठोस कदम चाल्दैन भने पूँजी र जनशक्ति दुवै बाहिरिने क्रम बढ्नेछ, जसले देशको अर्थतन्त्र दीर्घकालीन संकटमा फस्नेछ । त्यसैले अहिलेको समय पुनरुत्थानको हो—नत्र उद्योग मात्र होइन, राष्ट्रकै उत्पादन क्षमतामा धक्का पुग्नेछ ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend