सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल हस्तकला महासंघको ४५औं वार्षिक साधारण सभा असोज २९ गते हुने

नेपाल हस्तकला महासंघको ४५औं वार्षिक साधारण सभा असोज २९ गते हुने

 

 

२६ असोज,काठमाडौं ।  नेपाल हस्तकला महासंघले आफ्नो ४५औं वार्षिक साधारण सभा यही २०८२ असोज २९ गते बुधबार बिहान ९ बजेबाट नेपाल पुलिस क्लब, प्रदर्शनीमार्ग, भृकुटीमण्डप, काठमाडौंमा गर्ने भएको छ। महासंघले साधारण सभाको मिति, समय र स्थानबारे पुनः सूचना जारी गर्दै सम्पूर्ण बहालवाला सदस्य महानुभावहरूलाई उपस्थित रहन आग्रह गरेको छ।

महासंघका अनुसार साधारण सभा सम्बन्धी विस्तृत सूचना यसअघि नै २०८२ असोज ८ गतेका दिन सदस्यहरूलाई पठाइएको थियो र सोही दिनको राष्ट्रिय दैनिक ‘अभियान’ पत्रिकामा पनि सूचना प्रकाशित गरिएको स्मरण गराइएको छ।

साधारण सभामा सहभागी हुनका लागि आ.व. २०८२/८३ को वार्षिक शुल्क तिरेका बहालवाला सदस्यहरूलाई मात्र दर्ता खुला गरिएको महासंघले जनाएको छ। सभामा भाग लिन इच्छुक सदस्यहरूले मिति २०८२ असोज २६ गते आइतबारसम्म दर्ता शुल्क रु १,००० तिरी नाम दर्ता गर्नुपर्ने र दर्ता नगरेका सदस्यहरूलाई सभामा भाग लिन नपाइने पनि महासंघले स्पष्ट पारेको छ।

त्यसैगरी, महासंघको विधानको दफा ५.१ अनुसार साधारण सभाको कार्यक्रम, कार्य समितिको लिखित प्रस्ताव तथा अन्य सम्बन्धित कागजातहरू सदस्यहरूको ठेगाना वा इमेलमार्फत पठाइने जनाइएको छ।

सभामा सहभागी हुन आउँदा महासंघद्वारा जारी गरिएको सदस्यता परिचयपत्र अनिवार्य रूपमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ। परिचयपत्र नलिएका वा हराएका सदस्यहरूले नयाँ परिचयपत्र बनाउनका लागि असोज २६ गते आइतबारसम्म एक प्रति अटो साइजको फोटोसहित रु १०० दस्तुर तिरेर महासंघमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

यसैगरी, कार्य समितिको प्रतिवेदन सदस्यहरूलाई इमेलमार्फत पठाइसकिएको र उक्त प्रतिवेदनको छापिएको प्रति साधारण सभामा सहभागीसदस्यहरूलाई कार्यक्रमस्थलमै उपलब्ध गराइने पनि महासंघले जनाएको छ।

नेपाल हस्तकला महासंघले ४५औं वार्षिक साधारण सभासँग सम्बन्धित थप जानकारीका लागि महासंघको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

महासंघले यस साधारण सभामार्फत हस्तकला क्षेत्रका नीतिगत सुधार, संस्थागत सुदृढीकरण, र उद्योगी–व्यवसायीको हितका विषयमा गम्भीर छलफल हुने विश्वास व्यक्त गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend