सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजनीति शुद्धीकरणका लागि इमानदार नेतृत्व आवश्यकः पूर्व अध्यक्ष राजेन्द्र मल्ल

राजनीति शुद्धीकरणका लागि इमानदार नेतृत्व आवश्यकः पूर्व अध्यक्ष राजेन्द्र मल्ल

 

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष राजेन्द्र मल्लले विजयादशमीको अवसरमा नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत विशेष सन्देश प्रवाह गर्नु भएको छ । उहाँले युवाको नेतृत्व, वरिष्ठ नेताको मार्गदर्शन र नागरिकको सक्रिय सहभागिताबाट मात्र मुलुकलाई समृद्धि र विकासतर्फ अघि बढाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

मल्लले आफ्नो फेसबुक पेजमार्फत शुभकामना दिँदै सर्वत्र शान्ति, सद्भाव र प्रगतिका लागि कामना गर्नुभएको छ । साथै उहाँले नेपालको राजनीति शुद्धीकरण र सुधारका लागि इमानदार नेतृत्व, जनताको वास्तविक म्यान्डेट र योग्यताको आधारमा मात्र अवसर दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । उहाँको भनाइमा, राजनीतिलाई परिवारवाद र नातावादले कब्जा गरेको अवस्थामा देश विकासमा पछि परेको छ ।

उहाँले स्पष्ट सन्देश दिँदै राजनीति केवल परिवारको निरन्तरता होइन, बरु ऐतिहासिक योगदान, जनता सामु देखाइएको कार्यक्षमता र निर्विवाद योग्यता हेरेर मात्र नेतृत्वमा अवसर दिनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार पत्नी वा परिवारका सदस्यलाई केवल नाताका आधारमा दोहोर्याइँ पद दिने प्रवृत्तिले राजनीतिमा विकृति निम्त्याएको छ, जसलाई अन्त्य गर्नुपर्ने बेला आएको छ ।

“जनताको म्यान्डेटलाई प्राथमिकता दिने, इमानदार नेतृत्वलाई अगाडि ल्याउने र योग्यताको सम्मान गर्ने प्रणाली संस्थागत गर्न सके मात्र राजनीतिमा शुद्धीकरण हुन्छ र देश दिगो विकासतर्फ अघि बढ्छ,” मल्लले लेख्नुभएको छ ।

मल्लले दशैंलाई आपसी मेलमिलाप, सद्भाव र ऐक्यबद्धताको पर्वका रूपमा स्मरण गर्दै यस पर्वले नेपाली समाजलाई शान्ति र प्रगतिपथमा अघि बढाउने विश्वास पनि व्यक्त गर्नुभएको छ । उहाँको सन्देशले शुभकामनासँगै राजनीतिक चेतावनी र सुधारको आवश्यकता दुबैलाई उजागर गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend