काठमाडौं । नेपालमा सौर्य उर्जा उत्पादन परियोजनामा काम गरिरहेको पियोर इनर्जी लिमिटेडले आफ्नो आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष अक्षय गोल्याणको सभापतित्वमा मंगलबार ( ७ असोज , २०८२) काठमाडौंमा सम्पन्न कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ।
त्यस्तै , सो साधारणसभाले संस्थाको लेखापरीक्षण प्रतिवेदन र आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पनि पारित भएका छन् ।
साधारणसभाबाट संचालक समितिको रिक्त स्थानमा निर्वाचन मार्फत नयाँ संचालकहरुको नियुक्ति भएको छ। त्यस अन्तर्गत संस्थापक समुहमा संजय कुमार साह, सर्वसाधारण समुहमा प्रवेश कुमार आचार्य र स्वतन्त्र संचालकमा विशाखा लक्ष्मी खड्का सर्वसम्मत निर्वाचित भएका छन् ।
पियोर इनर्जी लिमिटेडसँग हाल बाँके जिल्लाको खजुरा गाउँपालिका-८ रनियापुरमा दुईवटा सौर्य ऊर्जा परियोजनाहरु छन्, जसको नाम पियोर इनर्जी ब्लक १ र पियोर इनर्जी ब्लक २ रहेको छ। प्रत्येक परियोजनाबाट १० मेगावाट ऊर्जा उत्पादन हुन्छ, जसको कुल क्षमता २० मेगावाट रहेको छ। यी परियोजनाहरु समुद्र सतहबाट करिब १५६ मिटरको उचाइमा छन् र करिब ४३ बिघा (७२ एकड) जग्गामा फैलिएका छन्।
यी परियोजनाबाट उत्पादित विद्युत २५ वर्षको अवधिको लागि नेपाल विद्युत प्राधिकरणसङ्ग विद्युत खरिद सम्झौता वमोजिम बिक्री गर्ने कम्पनीले सम्झौता गरेको छ।
सभामा कम्पनीका अध्यक्ष अक्षय गोल्याणले आयोजनाबाट २०८० सालमा निर्माण सम्पन्न भए पश्चात् नियमित रूपमा विद्युत उत्पादन भई कम्पनीले आम्दानी गरिरहेको बताए। यस कम्पनीले सोल पावर लिमिटेडमा २६% प्रतिशत लगानी गरि १०० मेगावाटका अन्य पाँच परियोजनामा काम गरिरहेको उनले जानकारी दिए। कम्पनी शेयरधनिहरुको हितमा सधैं लागिरहने उनले प्रतिबद्धता जनाए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend