सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शिक्षा मन्त्री पुनका तीन कडा निर्देशन

शिक्षा मन्त्री पुनका तीन कडा निर्देशन

 

८ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा। महाविर पुनले मन्त्रालयका कर्मचारीलाई आज तीनवटा ठोस निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित ब्रिफिङका क्रममा मन्त्री पुनले विद्यालयदेखि विश्वविद्यालयसम्मको शैक्षिक सुधारका लागि तत्काल लागू गर्नुपर्ने निर्णय सुनाएका हुन् ।

सबैभन्दा पहिला उनले नेपालभरका सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित हुन नपर्ने भन्दै हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने निर्देशन दिए ।

त्यस्तै, परीक्षा प्रणालीको ढिलासुस्तीलाई “विद्यार्थीहरूको लागि अपूरणीय क्षति” भन्दै उनले विश्वविद्यालयहरूलाई बढीमा तीन महिनाभित्र परीक्षाफल प्रकाशन गर्नुपर्ने व्यवस्था गर्न आदेश दिए । “केही विश्वविद्यालयहरूले आठ महिना देखि एक वर्षसम्म पनि नतिजा निकाल्न ढिलाइ गर्ने गरेका छन्, अब त्यस्तो सह्य हुँदैन,” भन्दै उनले समयमै नतिजा ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान नै रोक्का गर्ने चेतावनी दिए । उनले उदाहरण प्रस्तुत गर्दै भने, “राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाका पाँच लाख विद्यार्थीको नतिजा तीन महिनाभित्र निकाल्न सक्छ भने विश्वविद्यालयले पनि पक्कै गर्न सक्छन् ।”

यसबाहेक, मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको विशाल परिसरलाई सफा, आकर्षक र व्यवस्थित बनाउन पनि निर्देशन दिए । उनले हाताभित्रको झाडी फाँडेर सुन्दर बगैँचासहित फुटपाथ निर्माण गरी विश्वविद्यालयलाई आकर्षक बनाउनुपर्ने बताए । मन्त्री पुनका निर्देशनलाई शिक्षा क्षेत्रको सुधारतर्फको ठोस कदमका रूपमा लिइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend