७ असोज, काठमाडौं । कर्णाली अध्ययन तथा अनुसन्धान केन्द्रको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न विशेष कार्यक्रममा वक्ताहरुले मुलुकलाई जकडिएको मूल समस्या नै भष्टाचार भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै सरोकारवालाले ऐक्यबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । केन्द्रका अध्यक्ष महेश सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका सचिव राजेन्द्र राना, टियु प्राध्यापक महेश भट्टराई र जेन्जी विद्यार्थी नेता हर्क बमलगायतले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी युनियन अध्यक्ष उत्तम कटुवालले भष्टाचारलाई मुलुकको सबैभन्दा गम्भीर रोगका रूपमा चित्रण गर्दै राजनीतिक दल र तिनका नेताहरु नसुध्रँदा देश संकटतर्फ धकेलिएको टिप्पणी गरे । उनले जेन्जी आन्दोलनलाई मुलुककै चेत खुलाउने ऐतिहासिक घटनाका रूपमा व्याख्या गर्दै अब पनि दल र नेताहरुले सुधार नगरे आफैं समाप्त हुने चेतावनी दिए । लोकतन्त्रभन्दा बलियो अरु कुनै शक्ति नभएको भन्दै उनले भष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका सचिव राजेन्द्र रानाले भष्टाचारलाई ‘देशलाई खाइरहेको धमिरा’ भन्दै यसको अन्त्य आजकै आवश्यकता भएको बताए । सुशासन बिना विकास सम्भव नभएको उल्लेख गर्दै उनले भष्टाचारकै कारण मुलुकमा जेन्जी आन्दोलन जन्मिएको तर्क गरे । उनले गरिब र धनीबीचको खाडल अन्त्य गर्दै युवाशक्तिलाई स्वदेशमै रोजगारी दिलाउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा टियु प्राध्यापक महेश भट्टराईले भष्टाचार अन्त्य आजकै ऐतिहासिक आवश्यकता भएको बताए । उनका अनुसार दशक लामो जनयुद्धले गर्न नसकेको संरचनागत परिवर्तन जेन्जी आन्दोलनले दुई दिनमै सम्भव बनाएको छ । उनले राजनीतिक दल र नेताहरुलाई जेन्जी आन्दोलनले देखाएको बाटोमा अघि बढ्न सुझाव दिएका थिए ।
यस्तै, जेन्जी विद्यार्थी नेता हर्क बमले कर्णालीसहित मुलुकका जटिल समस्या अझै समाधान नभएको भन्दै अब कर्णाली जुरुक्क उठ्नुपर्ने धारणा राखे । उनले भष्टाचारकै कारण मुलुक माथि उठ्न नसकेको भन्दै जेन्जी आन्दोलनले पुराना दललाई चुनौती दिएको बताए ।
कार्यक्रममा सहभागी वक्ताहरुले कर्मचारी संगठनबीच एकता आवश्यक भएको, सुशासन कायम नगरी मुलुकलाई निकास दिन नसकिने, शहिदहरुको बलिदानलाई सम्मान गर्दै युवा पुस्ताको सपना पूरा गर्न सबै एकताबद्ध हुनुपर्ने निष्कर्ष निकाले ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend