४ असोज, काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिन सरोकारवाला सबै पक्षलाई गम्भीर हुन आग्रह गरेका छन् ।
गत भदौं २३ र २४ गतेको आन्दोलनका क्रममा बहुराष्ट्रिय कम्पनी एनसेल, चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्समा भएको आगजनी तथा तोडफोड घटनाको स्थलगत निरीक्षण गर्दै उनले यस्ता गतिविधिले दीर्घकालीन रूपमा लगानी वातावरणमा प्रतिकूल असर पार्ने चेतावनी दिएका हुन् ।
उनका अनुसार जेएनजी आन्दोलनको क्रममा घुसपैठमार्फत मुलुकभर निजी क्षेत्रका ठूला, मझौला र साना उद्योगसँगै व्यक्तिगत सम्पत्तिमाथि आक्रमण गरिएको छ, जसले दैनिक उत्पादन र रोजगारीमा प्रत्यक्ष असर पुर्याएको छ ।
“नेपालमा लगानीको वातावरण बिग्रँदै जाने खतरा देखिएको छ । यस्ता घटनाले आर्थिक विकासमा गम्भीर असर पार्छन् । सरकार, राजनीतिक दल र सरोकारवालाले लगानीमैत्री वातावरण कायम गर्न आवश्यक पहल गर्नुपर्छ,” अध्यक्ष ढकालले भने ।
उनले महासंघले विगतदेखि नै वैदेशिक लगानी भित्र्याउने र आन्तरिक लगानी प्रवर्द्धन गर्ने पहल गर्दै आएको भए पनि हालका घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश गएको बताए ।
ढकालका अनुसार नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशतभन्दा बढी रहेको अवस्थाले लगानीको संरक्षण र सुरक्षाको प्रत्याभूति दिलाउनु अपरिहार्य छ । उनले यस्ता घटनाबाट सरकारले समेत राजस्व गुमाउनुपर्ने परिस्थिति आएको उल्लेख गरे ।
महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य, केन्द्रीय सदस्यहरू सैलेन्द्र गुरागाई, डा। राशरण थपलिया, पशुपतिदेव पाण्डे र कमला श्रेष्ठलगायतको टोलीसहित अध्यक्ष ढकालले क्षतिग्रस्त संरचनाको अवलोकन गर्दै प्रभावित व्यवसायीलाई सहानुभूति व्यक्त गरेका थिए ।
यसअघि महासंघले अर्थमन्त्री तथा गृहमन्त्रीसँग भेट गरी आन्दोलनका क्रममा भएको निजी सम्पत्ति माथिको आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन, साथै शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन सरकारलाई आग्रह गरेको जनाएको छ ।
महासंघले निजी क्षेत्रको संरक्षण, लगानीमैत्री वातावरण सुनिश्चित गर्न र सुरक्षाको ग्यारेन्टी दिलाउन निरन्तर पहल गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend