३० भदौं, काठमाडौं । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका पूर्वअर्थसचिव रामेश्वर खनालले मन्त्री बनेपछि तलब, सरकारी क्वार्टर लगायतका कुनै पनि सुविधा नलिने भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले खनाललाई अर्थमन्त्री बनाउन राष्ट्रपति समक्ष नाम पठाएकी छिन् र आज ११ बजे मन्त्रीहरूको सपथको तयारी भइरहेको छ ।
सपथको तयारीमा रहेका खनालले अर्थमन्त्रीको रुपमा कुनै सेवा–सुविधा नलिने उनी निकट स्रोतले जानकारी दियो । ‘मन्त्रीको रुपमा पाउने तलब भत्ता, मन्त्री क्वार्टर लगायतका सेवा सुविधा उहाँले नलिने भन्नुभएको छ,’ खनाल निकट स्रोतले भन्यो, ‘तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका आर्थिक सल्लाहकार हुँदा पनि उहाँले कुनै सुविधा नलिई काम गर्नु भएको थियो ।’
पूर्वअर्थसचिव खनाल हालै उच्चस्तरीय आर्थिक सुधार आयोगको संयोजक रही करिब ५०० सुझाव दिएका थिए, जसले मुलुकको आर्थिक उन्नतिको बाटो देखाउने विश्वास गरिएको छ । उनका सुधारात्मक काम, कठोर अडान र पारदर्शिताप्रतिको प्रतिबद्धता नेपाली आर्थिक इतिहासमै महत्वपूर्ण उपलब्धि मानिन्छन् ।
खनालले वित्तीय अनुशासन, राजस्व संकलन, कर प्रणाली सुधार, लगानी वातावरण र समग्र पारदर्शिता प्रवर्द्धनमा विशेष योगदान दिएका छन् । उनले नक्कली भ्याट काण्ड उजागर गर्नेदेखि लिएर सेयर बजारमा दबाबका बीच पनि अनुशासन कायम गर्ने अडान लिएका थिए ।
२०६७ सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले मन्त्रालयबाहिर बजेट बनाउन खोजेपछि उनले पदबाट राजीनामा दिएर इमानदारीताको उदाहरण प्रस्तुत गरेका थिए । पद र शक्तिको लोभमा इमान बेच्ने प्रचलनबीच खनालको अडानलाई आज पनि साहसिक निर्णयको रूपमा सम्झिन्छ ।
अर्थतन्त्रका सिद्धान्त, व्यवहार, कर नीति, मौद्रिक नीतिसँगै नेपाली समाजको जरा बुझेका खनाललाई अहिले मुलुकको आर्थिक सुधारको अपेक्षासहित अर्थ मन्त्रालयमा पठाइँदैछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend