सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आन्दोलनले सत्ता परिवर्तन ल्यायो, अब पुनर्निर्माणमा हातेमालो गर्न महासंघको आह्वान

आन्दोलनले सत्ता परिवर्तन ल्यायो, अब पुनर्निर्माणमा हातेमालो गर्न महासंघको आह्वान

२९ भदौं, काठमाडौँ । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले जेन–जी आन्दोलनको क्रममा भएका मानवीय क्षति र सम्पत्तिमाथि भएका आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेको छ। महासंघका अध्यक्ष उमाकान्त शर्मा र महासचिव महेश कुँवरद्वारा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका ७० भन्दा बढी युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।

महासंघले २३ र २४ भदौमा भएको आन्दोलनले सत्ता परिवर्तनसम्म डोर्‍याएको अवस्थालाई स्मरण गर्दै नवगठित अन्तरिम सरकारले जेन–जी आन्दोलनको मर्म अनुरूप काम गर्नुपर्ने अपेक्षा राखेको छ। विज्ञप्तिमा भनिएको छ, “तोकेको समयमा चुनाव सम्पन्न गरी मुलुकलाई स्थायी निकास दिन सकियोस् भन्ने हाम्रो आशा छ।”

आन्दोलनको क्रममा राज्यबाट बल प्रयोग हुँदा डेढ दर्जनभन्दा बढी युवाले ज्यान गुमाउनु परेको भन्दै महासंघले घटनाप्रति चिन्ता प्रकट गरेको छ। साथै आन्दोलनकै क्रममा आक्रमण, आगजनी, तोडफोड र लुटपाटका घटनाले राज्य र निजी क्षेत्रलाई ठूलो नोक्सानी पुर्‍याएको भन्दै महासंघले यस्ता कार्य दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ।

“लगानीलाई आकर्षित गर्दै आर्थिक सुधारको बाटोमा अघि बढ्नुपर्ने बेलामा निजी क्षेत्रमाथिको आक्रमण पीडादायी छ,” विज्ञप्तिमा उल्लेख छ। महासंघले आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि राज्यले सत्यतथ्य उजागर गर्दै आवश्यक कारबाही गर्ने विश्वास लिएको पनि जनाएको छ।

महासंघले मुलुकको विकास र समृद्धिको यात्रामा सरकार, जनता, निजी क्षेत्र तथा सबै सरोकारवाला निकायबीच सहकार्य र हातेमालो आवश्यक रहेको भन्दै क्षतिग्रस्त सम्पत्ति तथा भवनहरूको पुनर्निर्माणमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend