२९ भदौ, काठमाडौं । पेसागत महासङ्घ नेपालले २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे गम्भीर चिन्ता व्यक्त गरेको छ । यस संस्थाले हिंसात्मक आन्दोलनका कारण ५१ नेपालीले ज्यान गुमाउनु र हजारौं घाइते हुनु प्रति स्तब्धता प्रकट गरेको छ । महासङ्घले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
महासङ्घका अध्यक्ष पुण्य प्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा आन्दोलनलाई हिंसात्मक बनाउने क्रममा सिंहदरवार र सर्वोच्च अदालतसहितका सरकारी भवन, निजी सम्पत्ति, उद्योग, पसलमा भएको आगजनी र तोडफोडप्रति खेद व्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “यस्तो कार्य खेदजनक छ, यसको निष्पक्ष छानबिन गरी दोषीलाई कार्वाही गर्नुपर्छ ।”
महासङ्घले आन्दोलन चर्किनुका कारणहरूमा राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर हुनु, नातावाद र स्वार्थी समूहको प्रभाव बढ्नु, सरकारी सेवामा ढिलासुस्ती र भ्रष्टाचार, नेताहरूकै घरमा अवैध सम्पत्ति भेटिनु, र लोकप्रिय सामाजिक सञ्जाल बन्द हुनुका साथै विपक्षी दलहरूको गैरजिम्मेवार भूमिका समेत रहेको उल्लेख गरेको छ । यी कारणले युवामाझ असन्तोष चुलिएको र आन्दोलन विस्फोटक बनेको विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष ढकालले नेपालले चुच्चे नक्साको अन्तर्राष्ट्रियकरणपछि बाह्य शक्तिको सकारात्मक सहयोग नपाउनु र विपक्षी दलहरूले सधैं विरोध र अफवाह फैलाउनुले समेत जनतामा ‘सबै दल खराब’ भन्ने धारणा बलियो भएको टिप्पणी गरेका छन् ।
महासङ्घले हालै राष्ट्रपतिबाट २०८२ भाद्र २७ गते प्रतिनिधिसभा विघटन भएको घटनालाई गैरसंवैधानिक भन्दै संसद पुनःस्थापना गरी संविधानभित्रैबाट समाधान खोज्न जोड दिएको छ । विज्ञप्तिमा भनिएको छ, “संविधान र कानुनसम्मत सुशासन कायम गर्न, भ्रष्टाचारीलाई कार्वाही गर्न र युवाको नेतृत्वलाई सशक्त बनाउन राजनीतिक दलहरूले संरचनागत परिवर्तन गर्नैपर्छ ।”
महासङ्घले पाँच वटा मुख्य माग अघि सारेको छ— आन्दोलनमा अनावश्यक बल प्रयोग गर्ने र सम्पत्ति नष्ट गर्ने घटनाको न्यायिक छानबिन, २०४६ सालदेखि उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण, युवाको मागअनुसार शासकीय स्वरूपमा पुनर्विचार, सेवामा रहेका राष्ट्रसेवकलाई सक्रिय भएर पुनर्निर्माणमा लाग्ने आह्वान, र हरेक पार्टीमा युवाको नेतृत्वलाई सुनिश्चित गर्ने संरचनागत पुनःसंरचना ।
महासङ्घले सबै पक्षलाई संयमित रहन र संविधानको रक्षा गर्दै आफ्ना जिम्मेवारी पूरा गर्न आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यसले नै नेपाल र नेपालीको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्नेछ ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend