सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बमकाण्डका आरोपी सांसद् आलमलाई थुनामै राख्न ८ दिनको म्याद थप

बमकाण्डका आरोपी सांसद् आलमलाई थुनामै राख्न ८ दिनको म्याद थप

काठमाण्डौ ८ कात्तिक । अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद ८ दिन थप गरेको छ ।

राजपुरमा भएको बम बिस्फोटको घटनामा घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद एवम् पूर्वमन्त्री आलमलाई जिल्ला अदालत गौरले थप अनुसन्धानको लागि शुक्रबार ८ दिनको म्याद थपेको छ । उनलाई म्याद थपेको यो तेस्रो पटक हो ।

न्यायाधीश केशवकुमार पाण्डेको इजलासले आलमलाई थप अनुसन्धानको लागि म्याद थपको आदेश भएको हो । आलम १३ दिनदेखि प्रहरी हिरासतमा छन् । घटनाबारे अनुसन्धानमा केही बाँकी रहेकाले म्याद थप भएको जिल्ला प्रहरीका एसपी भूपेन्द्र खत्रीले बताए ।

गत असोज २६ गते पक्राउ परेका आलमलाई प्रहरीले घटनाका प्रत्यक्षदर्शीसहित जोडिएकाहरुसित सोधपुछ गरेको छ। घटनामा सरुअठाका तृलोकप्रताप सिंह र ओसी अख्तरलाई जिउँदै जलाएर मारेको भन्दै आलममाथि कर्तव्य ज्यानको मुद्दा दर्ता भएको थियो।

पहिलो संविधानसभा निर्वाचनको बेला २०६४ चैत २७ गते राजपुरस्थित पूर्वमन्त्री सेख इदृसको गोठमा बम बिस्फोट भएको थियो। सोही घटनामा आलमसहित ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

२०५६ सालमा वनराज्यमन्त्री रहेका आलमले रौतहटका तत्कालीन जिविस सदस्य जयप्रकाश कौशलको अपहरण गरी उनलाई बन्धक बनाएका थिए ।

त्यही अपहरण काण्डका विषयमा तत्कालीन एमालेले संसद् अवरुद्ध पारेपछि सरकारले पुनरावेदन अदालतका तत्कालीन न्यायाधशि गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा अधिवक्ताद्वय अग्नि खरेल र शेरबहादुर केसी सदस्य रहेको न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend