१६ भदौं, काठमाडौँ । आन्दोलनरत निजी विद्यालयका सञ्चालकहरूले आफूहरूले विद्यालय बन्द नगराउने स्पष्ट पारेका छन् । विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति, क्रमशः गैरनाफामूलक बनाउने लगायतका विभेदकारी नीति तत्काल हटाउन माग गर्दै आन्दोलन गरिरहेका उनीहरूले विद्यालय बन्द गराउने पक्षमा नरहेको जनाएका हुन् ।
विद्यालयको पठनपाठन बन्द नगरी विधेयकविरुद्ध आन्दोलनलाई निरन्तरता दिने अडानसहित राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
अध्यक्ष गीता क्षेत्री राणाले विद्यालय बन्द गर्ने अवस्था आउन नदिन विद्यालय सञ्चालक प्रतिबद्ध रहेको उल्लेख गर्दै, पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने भन्ने विधेयकमा उल्लेखित शब्दावली तत्काल हटाउन सरकारलाई आग्रह गरिन् । उनले विधेयकले शुल्क वृद्धि गर्ने परिस्थितिलाई जन्म दिने र अन्ततः गरिब अभिभावकलाई मारमा पार्ने खालको व्यवस्था अस्वीकार्य हुने बताइन् ।
निजी विद्यालयहरूले सरकारले ल्याएको विधेयकका कतिपय प्रावधान संविधान र कानुनसम्मत नभएको जिकिर गर्दै त्यसलाई कार्यान्वयन गर्न नसकिने चेतावनी दिँदै आएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend