सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

इम्बुष्ड नम्बर प्लेटले नागरिकलाई आर्थिक बोझ र गोपनीयता संकटमा पार्छः सचिव टेक पुन मगर

इम्बुष्ड नम्बर प्लेटले नागरिकलाई आर्थिक बोझ र गोपनीयता संकटमा पार्छः सचिव टेक पुन मगर

 

१० भदौं, काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघका केन्द्रीय सचिव टेक पुन मगरले यातायात व्यवस्था विभागले लागू गर्न लागेको इम्बुष्ड नम्बर प्लेट प्रणालीप्रति कडा आपत्ति प्रकट गर्नुभएको छ। आज बिहान खबरब्रेकिंग डटकमसँगको छोटो कुराकानीमा उहाँले विभागले असोज १ गतेदेखि सार्वजनिक, पर्यटन, ढुवानी तथा निजी सवारीसाधनमा समेत अनिवार्य गर्ने निर्णय गरेको भन्दै गम्भीर विरोध जनाउनुभएको हो।

सचिव पुनका अनुसार देशमै आवश्यक प्राविधिक पूर्वाधारको अभाव हुँदाहुँदै विदेशी ठेकेदार कम्पनीमार्फत एकतर्फी ढंगले थोपारिएको यो प्रणालीले आम नागरिक र व्यवसायी दुवैलाई अतिरिक्त आर्थिक बोझमा धकेल्नेछ। साथै, नम्बर प्लेटमार्फत प्राप्त हुने सूचनाले व्यक्तिगत गोपनीयता र मुलुकको सुरक्षा प्रणाली नै खतरामा पर्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो।

उहाँले छलफल, संवाद र सर्वसहमति विना निर्णयलाई कार्यान्वयनमा ल्याउन खोज्नु सरकारको अव्यवहारिक र हठी कदम भएको टिप्पणी गर्दै, तत्कालै यस्तो योजना स्थगित गर्न आग्रह गर्नुभयो। सार्वजनिक, पर्यटन, ढुवानी तथा निजी क्षेत्रका सम्पूर्ण सवारीसाधनमा इम्बुष्ड नम्बर प्लेट जडान नगर्न सरकारलाई अनुरोध गर्दै पुनले नागरिक र व्यवसायीको आवाजलाई राज्यले बेवास्ता गर्न नहुने स्पष्ट सन्देश दिनुभयो।

सचिव पुनले यदि जबर्जस्ती इम्बुष्ड नम्बर प्लेट जडान गराउने प्रयास गरियो भने त्यसबाट सिर्जित हुने प्रतिकूल परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्वयम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका निकायहरूले लिनुपर्ने चेतावनीसमेत दिनुभएको छ। उहाँको भनाइमा, व्यवसायी तथा नागरिकको भावना विपरीत सरकारले अघि बढे आन्दोलनको वातावरण सिर्जना हुनु अपरिहार्य हुनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend