९ भदौं,काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले यातायात व्यवस्था विभागले अनिवार्य गर्न लागेको इम्बुष्ड नम्बर प्लेट प्रणालीको कडा विरोध गर्दै विज्ञप्ति जारी गरेको छ।
महासंघका महासचिव भरत नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि विभागले मिति २०८२ असोज १ गतेदेखि सार्वजनिक, पर्यटन, ढुवानी तथा निजी सवारीसाधनमा समेत इम्बुष्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेकोमा गम्भीर आपत्ति प्रकट भएको छ।
विज्ञप्तिमा भनिएको छ, “देशमै आवश्यक पुर्वाधार नहुँदा समेत विदेशी ठेकेदार कम्पनीमार्फत एकतर्फी ढंगले थोपारिएको यो प्रणालीले आम नागरिक र व्यवसायीमाथि अतिरिक्त आर्थिक बोझ बढाउने मात्र नभई, सुरक्षा र गोपनीयतामा समेत खतरा निम्त्याउनेछ।”
महासंघले विदेशी कम्पनीको नियन्त्रणमा नागरिक विवरण रहने खतरा देखाउँदै यसलाई राष्ट्रिय स्वाभिमानविरुद्धको निर्णय भन्दै सरकार र सम्बन्धित निकायलाई तत्काल पुनर्विचार गर्न आग्रह गरेको छ।
त्यस्तै, छलफल र संवाद विना लागू गर्न खोजिएको यस निर्णयलाई अव्यवहारिक बताउँदै महासंघले सार्वजनिक, पर्यटन, ढुवानी तथा निजी क्षेत्रका सम्पूर्ण सवारी साधनमा इम्बुष्ड नम्बर प्लेट जडान नगर्न अनुरोध गरेको छ।
महासंघले चेतावनी दिंदै भनेको छ, “यदि जबर्जस्ती नम्बर प्लेट जडान गर्न खोजियो भने त्यसबाट सिर्जित हुने परिस्थितिको जिम्मेवारी स्वयम् यातायात मन्त्रालय र मातहत निकायहरूले लिनुपर्नेछ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend