८ भदौं,काठमाडौं ।अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ । निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गरेर राष्ट्र बैंकले यो रकम खिच्न लागेको हो ।
हाल कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । वित्तीय प्रणालीमा बढ्दो तरलता र ब्याजदर व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ । आजको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाले प्रस्ताव गरेको ब्याजदरअनुसार प्राथमिकता दिइनेछ । सबैभन्दा कम दरबोललाई पहिलो प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।
आजको निक्षेप संकलन उपकरण अनलाइन खरिद प्रणालीमार्फत हुनेछ र ब्याजदर समेत बोलकबोलमार्फत नै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । सो निक्षेपको सावाँ तथा ब्याज रकम आगामी २०८२ भदौ २९ गते भुक्तानी हुने बताइएको छ ।
यसपटकको निक्षेप संकलनमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्ने व्यवस्था गरिएको छ ।
केन्द्रिय बैंकको खुला बजार कारोबार कार्यविधि अनुसार, वित्तीय बजारमा दीर्घकालीन तरलता देखिए ब्याजदर सन्तुलनमा राख्न ६ महिनासम्म अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने प्रावधान छ । यही प्रावधानअनुसार राष्ट्र बैंकले पटक–पटक निक्षेप संकलन गर्दै आएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend