७ भदौ, ललितपुर । नेपाली काङ्ग्रेस पार्टी आवद्ध लोकतान्त्रिक इन्जिनियर समाज ( सिडेन ) को आसन्न निर्वाचनको लागि केन्द्रीय कार्यकारिणी समितिको अध्यक्ष पदमा इन्जिनियर धनेन्द्र केसीले उम्मेदवारी सार्वजनिक गरेका छन् । ‘निरन्तरता र थप प्रतिबद्धता’ सहित संस्थालाई योगदान दिने घोषणा गर्दै शनिबार इ. केसीले आफ्नो समुहका पदाधिकारीको परिचय सहित उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा आफ्नो प्रतिबद्धता जनाउँदै अध्यक्षका प्रत्यासी इ. धनेन्द्र केसीले राम्रो बोलेर वा अनेक आश्वासन दिएर भन्दा पनि काम मार्फत नै आफ्नो परिचय निर्माण गर्नुपर्छ भन्नेमा विश्वस्त रहेको स्पष्ट पारे। उनले आफुले जितेपछि नेपाली काङ्ग्रेस पार्टी , सिडेन र इन्जिनियरहरुको हितमा लागिपर्ने जनाए ।

‘सिडेनको आगामी नेतृत्वको लागि सहमतिमा जान खोजेको भए पनि अरु साथिहरुको अनेक लालच र नेतृत्वमा पुगेर विभिन्न नियुक्ति र लाभ लिनुपर्छ भन्ने सोचले सम्भव भएन। त्यसपछि कर्णालीसहितका भूगोल र महिला , जनजाती लगायत समावेश गरेर यो काविल प्यानल निर्माण भएको छ’, उनले भने। संस्थाका अग्रजहरु समेतको साथले आफ्नो नेतृत्वले जीत हासिल गर्ने उनले विश्वास व्यक्त गरे।
सिडेनको निर्वाचनको लागि अध्यक्ष इ.धनेन्द्र केसीको प्यानलमा उपाध्यक्ष पदका लागि सागर शमशेर शाही , महासचिवमा उपेन्द्र श्रेष्ठ , उपमहासचिवमा सन्तोष नेपाल , कोषाध्यक्षमा रश्मिता बन्जारा सहितको उम्मेदवारी रहेको छ।
कार्यक्रममा सिडेनको बागमती प्रदेशको अध्यक्षका लागि इ. पुरुषोत्तम शर्माले आफ्नो प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गरेका थिए।
संस्थाको निर्वाचन यहीँ भदौ १४ गते हुँदैछ। उम्मेदवारी घोषणा कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य इ. मधु आचार्य , राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु इ. जगदीशचन्द्र पोखरेल र गोविन्द पोखरेल , प्रा. डा. हिरेन्द्र मान प्रधान , नेपाल इन्जिनियरिङ संघका पूर्व अध्यक्ष इ. ध्रुव थापा लगायतले धनेन्द्र केसी र पुरुषोत्तम शर्माको टिमलाई जीतको लागि शुभकामना व्यक्त गरेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend