प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्ने जो कोहीलाई नछाड्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले ‘सिण्डिकेट’ तोड्न खोज्दा निकै ठूलो प्रतिरोधको सामना गर्नुपरेको बताउँदै अनुचित कुराहरुमा सरकारको कुनै सम्झौता नहुने र कानूनको राज्यमा विभिन्न खाले सेटिङ मिलाउने र अनुचित बल प्रयोग गरेर जनतालाई दुःख दिनेजस्ता कार्यसँग सम्झौता नगरिने समेत स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुक भित्र भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन, सीप ज्ञान, उपलब्ध पूँजी, संरचनाहरुको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले पहिलोपटक प्रदेश नं ५ को प्रदेशसभा बैठकलाई बुटवलमा सम्बोधन गर्दै तीनवटै तहका सरकारको ध्यान अब आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने बताए ।
प्रधानमन्त्रीले संविधानले दिएको तीन तहको सरकार गठन गरेपछिको पहिलो पटक संघीय सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा निकै खुशी लागेको बताउँदै यस्तो खुशीको अनुभूति प्रत्येक नागरिकलाई दिलाउन पहल गर्नुपर्ने बताए । लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेको बताउँदै राष्ट्रसंघले अगाडि सारेको सन् २०३० सम्मको दिगो विकासको लक्षलाई पूरा गर्न वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रममा महत्वपूर्ण कार्यक्रमलाई अगाडि बढाउने स्पष्ट पारे । नेपालको व्यापार घाटामा असन्तुलनमात्र नभएर निकै ठूलो अन्तर रहेको बताउँदै यसलाई घटाउन हरेक कुराको सदुपयोग गरेर निर्यातमूलक उत्पादन बढाउने र उत्पादन, रोजगारी, आयमूलक कार्यक्रम लागू गरेर जनताको जीवनस्तर बढाउने काम वर्तमान सरकारले अगाडि बढाउनेसमेत बताए । उनले लोकतन्त्रलाई राजनीतिक अधिकार प्राप्तिको मात्र नभएर प्रत्येक जनताको खान, लाउन, बस्न पाउने, स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार र उन्नति र प्रगतिका लागि आर्थिक जीवन, समाजमा समान हैसियत कायम गर्नका लागि सामाजिक समानता कायम गर्ने विषयमा पनि व्यावहारिक रुपमा कार्यान्वयन गर्ने प्रष्ट पारे । उनले गौतमबुद्धको जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित थुप्रै क्षेत्रसँगै अन्य महत्वपूर्ण धार्मिकस्थानको संरक्षण, विकास र प्रचारप्रसार गरेर प्रदेशमा निकै ठूला अवसर रहेको भन्दै उहाँले सो अवसरको उपयोग गर्नसमेत आग्रह गरे । धार्मिक पर्यटन, सांस्कृतिक, पर्यटन, कृषि, उद्योग, व्यापारलगायत धेरै सम्भावना प्रदेश नं ५ मा रहेको बताउँदै यसको योजनाबद्ध विकासमा लाग्नसमेत निर्देशन दिए । तत्काल आफ्नो स्रोतसाधनले मात्रै सबैखाले विकास गर्न र आर्थिक समृृद्धि गर्न सम्भव नभए छिमेकीको सहयोग र सीपको पनि उपयोग गर्न सकिने उनको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend