सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल पर्वतारोहण संघ निर्वाचन : कुल गुरुङ समूहलाई विजयी गराउन अपील

नेपाल पर्वतारोहण संघ निर्वाचन : कुल गुरुङ समूहलाई विजयी गराउन अपील

३१ साउन, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि भदौ ७ गते हुने निर्वाचनलाई लक्षित गर्दै चुनावी सरगर्मी तीव्र बनेको छ । संघसँग आबद्ध आरोही, व्यवसायी तथा पर्यटनविद्हरू सक्रिय राजनीतिको तरङ्गमा डुबिरहेका छन् ।

यसै क्रममा साझा उम्मेदवारका रुपमा अगाडि आएका कुल बहादुर गुरुङको नेतृत्वमा बनेको समूहले शनिबार आफ्नो चुनावी घोषणापत्रसहित समर्थकलाई सम्बोधन गर्दै प्रचार–प्रसार अभियानलाई औपचारिक रूपमा अघि बढाएको छ । गुरुङ समूहले आफूलाई अनुभवी, क्षमतावान, पेशाकर्मी, आरोही, व्यवसायी तथा पर्वतीय पर्यटन विज्ञहरूको समावेशी टिमका रूपमा प्रस्तुत गर्दै संघलाई सबल र विश्वसनीय बनाउन मतदातालाई अपील गरेको छ ।

चुनाव प्रचार–प्रसार समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आदरणीय नेपाल पर्वतारोहण संघसँग आबद्ध सम्पूर्ण आरोही, व्यवसायी तथा पर्यटन विज्ञज्यूहरूलाई हार्दिक नमस्कार । यही २०८२ भाद्र ७ गते (२३ अगस्ट २०२५) का दिन हुन गैइरहेको निर्वाचनमा साझा उम्मेदवार श्री कुल बहादुर गुरुङको नेतृत्वमा तयार भएको समावेशी समूहलाई तपाईंहरूको अमूल्य मत दिई विजयी गराइदिनुहुन अनुरोध गर्दछौं ।”

नेता गुरुङले विगत चार दशकभन्दा बढीको अनुभवलाई संस्थागत नेतृत्वमा परिणत गर्ने वाचा गर्दै नेपालका हिमाल र पर्वतीय पर्यटनलाई थप व्यवस्थित, दिगो र प्रतिस्पर्धी बनाउन आफ्नो टिम सक्षम रहेको विश्वास दिलाएका छन् ।

आगामी निर्वाचनमा कुल गुरुङ समूहलाई मुख्य प्रतिस्पर्धीका रूपमा अन्य दुई गठबन्धन समूहले चुनौती दिइरहेका छन् । संघको नेतृत्व कसले हात पार्ने भन्ने उत्सुकता बढ्दै जाँदा चुनावी मैदानमा विचार र योजनाको प्रतिस्पर्धा चुलिएको छ ।

कुल बहादुर गुरुङ समूहले भने निर्वाचनलाई पर्वतीय पर्यटनको भविष्य सुनिश्चित गर्ने अवसरका रूपमा चित्रण गर्दै, सबै सदस्यलाई सक्रिय सहभागिताका साथ मत खसाल्न आह्वान गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend