३० साउन , काठमाडौं । राष्ट्रिय युवा परिषद् अन्तर्गत परम्परागत सीपमा आधारित संजालका अध्यक्ष राज कार्कीले सामाजिक सञ्जालमार्फत युवालाई फेशन शिक्षाको महत्वबारे प्रेरणादायी सन्देश दिएका छन्। आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गर्दै उनले फेशनलाई केवल कपडा डिजाइन गर्ने सीमान्त कला नभई उद्यमशीलताको साहसी यात्रा भएको स्पष्ट पारेका छन्।
पोस्टमा कार्कीले लेखेका छन्, “फेशन केवल कपडा डिजाइन गर्ने कला होइन, यो उद्यमशीलताको साहसी यात्रा हो। हामी नयाँ युगको सिलाई पेशालाई शिक्षा र सिर्जनशीलताको मञ्चसँग जोड्दैछौं। यो हाम्रो भविष्य निर्माणको संकल्प हो, हाम्रो पहिचान पुनःलेखनको अवसर हो।”
उनले युवाहरूसँग हातेमालो गर्दै सहयात्राको आग्रह गरेका छन्। “आउनुस्, हामीसँगै हातेमालो गरौं — तपाईं सपनाको सहयात्री बन्नुहोस्, हामी तपाईंका दृढ सारथी बन्नेछौं। म्ल् सरको प्रेरणाले हामी अडिग छौं, र अब कुनै पनि चुनौतीले हाम्रो बाटो रोक्न सक्दैन,” कार्कीको भनाइ छ।
फेशन क्षेत्रमा व्यावसायिक अवसर सिर्जना गर्न ‘डिप्लोमा इन फेशन’ को अवधारणा अघि सारेका उनले इच्छुक युवालाई यसमा सहभागी हुन आह्वान गरे। “डिप्लोमा इन फेशन गर्न चाहनुहुन्छ भने तपाईंको भविष्यका लागि हामी तपाईंका साँच्चा साथी हौं। आउनुहोस्, संगै सपनालाई वास्तविकता बनाऔं,” उनले पोस्टमा उल्लेख गरेका छन्।
परम्परागत सीपलाई आधुनिक शिक्षासँग जोड्ने आफ्नो दृष्टि सार्वजनिक गर्दै कार्कीले यो कार्यक्रमले युवालाई स्वरोजगार, उद्यमशीलता र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सक्षम बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, फेशन शिक्षाले केवल डिजाइनर मात्र होइन, सफल व्यवसायी, उद्योगपति र सांस्कृतिक दूत उत्पादन गर्ने सम्भावना बोकेको छ।
युवाहरूबीच यस पोस्टले सकारात्मक चर्चा पाएको छ। धेरैले सामाजिक सञ्जालमै टिप्पणी गर्दै कार्कीको यो दृष्टिको समर्थन गरेका छन् र फेशन क्षेत्रमा व्यावसायिक अध्ययनका अवसरहरू बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend