३० साउन ,काठमाडौं नेपाल पर्वतारोहण संघ (NMA) को आगामी निर्वाचनलाई लक्ष्य गर्दै सोलुखुम्बुका चर्चित पर्वतीय पर्यटन अभियन्ता फुरगेल्जे शेर्पाले अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। “पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित राजधानीमा आयोजित विशेष कार्यक्रममार्फत उनले आफ्नो विस्तृत कार्ययोजना सार्वजनिक गरे।
शेर्पाले भदौं ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने निर्वाचनका लागि प्रस्तुत योजनामा दीर्घकालीन र संरचनागत सुधारका प्रस्तावहरू समावेश गर्दै, संघको विधान र परिधिभित्र रही सदस्यहरूको हकहितको दृढ संरक्षण, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्ने र पर्वतारोहण क्षेत्रलाई व्यवस्थित बनाउने लक्ष्य स्पष्ट पारे।
उनको कार्ययोजनाको प्रमुख आकर्षण ‘माउन्टेन टुरिजम युनिभर्सिटी’ स्थापना हो। यस विश्वविद्यालयमार्फत आरोहण, हिमाल संरक्षण, पर्वतीय पर्यटन व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धी अध्ययन र अनुसन्धानका उच्चस्तरीय अवसर नेपालमै उपलब्ध हुने विश्वास उनले व्यक्त गरे। यसले विदेशी विद्यार्थी र प्रशिक्षार्थीलाई समेत नेपाल तर्फ आकर्षित गर्ने उनको तर्क छ।
त्यस्तै, उनले अन्तर्राष्ट्रियस्तरको आरोहण तालिम केन्द्र सञ्चालन, आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्दै आपतकालीन उद्धार प्रणालीलाई समयमै र प्रभावकारी ढंगले सञ्चालन गर्ने योजना प्रस्तुत गरे। उनका अनुसार हिमाल आरोहणमा विश्व कीर्तिमान राख्ने नेपाली वा विदेशी आरोहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष सुविधा दिने व्यवस्था लागू गरिनेछ।
शेर्पाले जलवायु परिवर्तनका कारण प्रत्यक्ष असर परिरहेका हिमाली क्षेत्रमा संरक्षण कार्यक्रम सञ्चालन गर्ने, र स्थानीयस्तरमै ‘रेस्क्यू टिम’ गठन गरी तत्काल उद्धार सुनिश्चित गर्ने लक्ष्य राखेका छन्। यसका लागि आधुनिक उपकरण, तालिम प्राप्त जनशक्ति र स्थानीय ज्ञानको संयोजनमार्फत उद्धार कार्यलाई गति दिने प्रस्ताव गरिएको छ।
कार्यक्रममा उनले आफ्नो समूहका पदाधिकारीहरूको नामावली पनि सार्वजनिक गरे। जसअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा रहनेछन्। त्यस्तै, सदस्यमा केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, डोल्मा लामा र निशा भोटे रहेका छन्।
सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा जन्मिएका फुरगेल्जे शेर्पा सन् १९९९ देखि २००२ सम्म नेपाल पर्वतारोहण संघको कार्यसमिति सदस्य तथा एक कार्यकाल विदेश विभाग प्रमुखको रूपमा कार्यरत रहिसकेका अनुभवी पर्यटनकर्मी हुन्। दुई दशकभन्दा बढी समयदेखि उनी हिमाली क्षेत्रमा उद्धार कार्य, समाजसेवा र पर्वतीय पर्यटनको प्रवर्द्धनमा सक्रिय छन्। विशेष गरी हिमाल आरोहणका क्रममा जीवन जोखिममा परेका आरोहीहरूको उद्धार, स्थानीय समुदायसँगको सहकार्य र अन्तर्राष्ट्रिय मञ्चमा नेपालका हिमालहरूको प्रचार–प्रसारमा उनको योगदान उल्लेखनीय मानिन्छ।
शेर्पाले उम्मेदवारी घोषणा कार्यक्रममा भने, “यो केवल पदको प्रतिस्पर्धा होइन, यो हिमाल, हिमाली संस्कृति र नेपालका भविष्यका लागि जिम्मेवारीको घोषणा हो। हामीले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने पर्वतीय पर्यटनको संरचना बनाउनु पर्छ, जसले हाम्रो अर्थतन्त्र र पहिचान दुवैलाई मजबुत बनाउँछ।”
उनको उम्मेदवारीसँगै नेपाल पर्वतारोहण संघको निर्वाचन प्रतिस्पर्धा अझ रोचक र प्रतिस्पर्धात्मक बनेको छ। पर्यटन क्षेत्रका सरोकारवालाहरूको भनाइमा, शेर्पाको अनुभव र अन्तर्राष्ट्रिय सम्पर्क क्षमता संघको भविष्यको नेतृत्वमा निर्णायक हुन सक्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend