२९ साउन ,काठमाडौं । सांसद अमरेशकुमार सिंहले देशमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्प कमल दाहाल विरुद्ध कसैले बोल्न नपाउने परिस्थिति बनाइएको र बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै तीन शीर्ष नेताविरुद्ध बोले त्यसको खैरियत नहुने बताए। मुख्य दलका नेताहरुको गलत कामका बारेमा बोलेमा षडयन्त्र र झुठो अभियोग लगाएर रवि लामिछानेलाई जस्तै जेल हाल्ने गरेको उनले बताएका छन् ।
सहकारीको सदस्य समेत नरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा रहेका काङ्ग्रेस-एमाले पार्टीले षडयन्त्रपूर्वक पुरक जाहेरी दर्ता गरेर मुद्दा लगाउदै जेल हालेको प्रति उनको इसारा थियो।
सांसद सिंहले भने, ‘तीन शीर्ष नेताहरुविरुद्ध बोले त्यसको खैरियत छैन। कोही अमरेश सिंह हुन्छ, कोही भीम रावल हुन्छ, कोही रवि लामिछाने हुन्छ, कोही रेशम चौधरी हुन्छ।’
उनले अहिलेको सरकारले विरोधीलाई साइबर क्राइम मुद्दा लगाइरहेको बताए: ‘साइबर क्राइममा राज्यले पुलिसलाई प्रयोग गरेको छ। यहाँ स्वतन्त्र प्रहरी छैन। राज्य नियन्त्रित प्रहरी छ। कुनै कार्यकर्ताले मलाई जथाभाबी गाली गर्ने अनेक फोटो राख्ने गरेपछि म दुई पटक प्रहरीकहाँ गएँ। एसएसपीले साइबरसम्बन्धी मुद्दा लिँदैनौँ अदालतमा जानुस् भन्नुभयो। म सांसद छु, तर प्रधानमन्त्री र गृहमन्त्रीलाई केही लेख्यो भने दुबई, जापानबाट झिकेर भनेपनि कारबाही गरिन्छ। यो साइबर सेक्युरिटीको ठुलो दुरुपयोग छ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend