काठमाडौं १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले साना–मसिना काममा अल्झिएर राष्ट्रिय गौरवका आयोजनाहरु पूरा गर्न आलटाल गरे विभागीय मन्त्रीलाई पदबाट हटाउने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साउनयता सरकारका विभिन्न मन्त्रालयबाट भएका कामको प्रगतिविवरण जानकारी लिने क्रममा योजनाअनुसार काम नगर्ने÷नगराउने मन्त्रीहरूलाई हटाउने चेतावनी दिएका हुन्।
प्रधानमन्त्री ओलीले सामाजिक, आर्थिक विकासमा प्रभाव पार्ने गरी केही मन्त्रालयले काम गर्न नसकेको भन्दै असन्तुष्टि पनि पोखे। उनले कामको समीक्षा गर्दै देश र जनताको चाहनाअनुसार ल्याइएका योजना समयमै सम्पन्न गर्नेतिर लाग्न मन्त्रीहरूलाई निर्देशन दिए ।
‘खासगरी भौतिक योजना, सहरी, सिँचाइ, खानेपानी मन्त्रालयतर्फ प्रधानमन्त्रीको असन्तुष्टि देखियो’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मन्त्रालयको प्रगतिविवरण सुनेपछि प्रधानमन्त्री ओलीले ५० आंै साना–मसिना काममा अल्झिने तर दुईवटा राष्ट्रिय गौरवका परियोजना सक्नेतर्फ नलाग्ने हो भने त्यो मन्त्रीले काम गर्न सक्दैन भन्ने निष्कर्ष हुन्छ, ध्यान दिनु होला।’
प्रधानमन्त्री ओलीले अन्तरमन्त्रालय र मन्त्रालयभित्रै पनि समन्वय हुन नसकेको भन्दै असन्तुष्टि पोखे । यो समाचार आजको नागरिक दैनिकमा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend