काठमाडौं ९ असोज । यसपालीको दशैं हिले दशैं हुने भएको छ । मनसुनको समय अवधि सकिए पनि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य नसकिँदा यसपालीको दशैं हिले हुने देखिएको हो । साविकअनुसार यस वर्षको मनसुनको समय अवधि सकिएको छ । दुई दिनअघि नेपालको मनसुनको समय अवधि सकिएको हो ।
तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन अन्त्य हुन यसका विभिन्न ‘क्राइटेरिया’ पूरा हुनुपर्छ, त्यो हुने सम्भावना तत्काल देखिँदैन, मौसमविद् मञ्जु बासीले भने, ‘अझै करिब एक साता मनसुन सक्रिय रहने सम्भावना देखिन्छ ।
फाट्टफुट्ट वर्षा भने दशैँसम्म कायम रहने उनको अनुमान छ । यति बेला मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ छ । केही दिनअघि सरेर उत्तर पुग्दा पनि विविध स्थानमा भारी वर्षा भएको थियो । यसरी मनसुनी रेखा यताउता सर्ने गर्दा आसपासका क्षेत्रमा हल्कादेखि भारी वर्षा कायम रहने उनले बताए । यसमा स्थानीय वायुको प्रभावले थप मद्दत र्पुयाएको छ ।
पूर्वदेखि पश्चिमसम्म नै शुक्रबारसम्म वर्षाको सम्भावना महाशाखाले गरेको छ । बिहीबारसम्म भने सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा हुने जनाइएको छ । शुक्रबार भने मध्य तथा पूर्वका केही स्थानमा भारी वर्षा हुने आकलन महाशाखाले गरेको छ ।
यस अवधिमा केही भेगमा स्थानीय नदीखोलामा बाढी आउने र पहाडी भेगमा पहिरोको सम्भावना रहेकाले सतर्क रहन भनिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend