दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवस अवसरमा सवैले सम्झिएका छन् । मनमोहन अधिकारी नेपालको कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका शीर्ष नेता थिए । अधिकारीको ०५६ साल वैशाख १३ गते चुनावी अभियानकै सिलसिलामा निधन भएको थियो ।
अधिकारी ०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनबाट महासचिव निर्वा्चित भएका थिए ।नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका पहिलो पुस्ताका शिखर पुरुष अधिकारीले नेपालको इतिहासकै स्वच्छ प्रधानमन्त्रीका रुपमा ९ महिने सरकारको नेतृत्व गरेका थिए ।मनमोहन नेतृत्वको सरकारले नेपालमा पहिलोपटक सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक भत्ताको व्यवस्था गरेको थियो । यसको ‘जस’ एमालेले अहिलेसम्मका चुनावमा लिँदै आइरहेको छ ।तत्कालीन नेकपा माले र नेकपा मार्कस्वादीको एकीकरण भई ०४७ सालमा नेकपा एमाले निर्माण भएपछि मनमोहन एमालेको अध्यक्ष बनेका थिए । उनी जीवन पर्यन्त एमालेको अध्यक्ष रहे । मनमोहनको निधनपछि एमालेले अध्यक्ष पद खाली राखेको थियो । ०६५ को आठौं महाधिवेशनबाट मात्र एमालेले अध्यक्षको व्यवस्था गरेको थियो । नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकीकरण गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारीले अंग्रेजविरुद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका थिए । ००३ सालमा बिराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका अधिकारी नेपालको पहिलो मजदूर नेता पनि हुन् ।
करीब ६ दशक नेपाल कम्युनिस्ट पार्टीको नेताका रूपमा राजनीतिक आन्दोलनको नेतृत्व गरेका अधिकारीले पटक(पटक गरी करीब १७ वर्ष लामो कठोर जेल जीवन बिताएका थिए ।०५६ सालको आम निर्वाचनका क्रममा काठमाण्डुको गोठाटारमा आयोजित एक कार्यक्रममा अचानक बेहोस भएपछि उपचारकै क्रममा ०५६ वैशाख १३ गते अधिकारीको निधन भएको थियो । अधिकारी त्यस निर्वाचनमा काठमाण्डु क्षेत्र नम्बर १ र ३ बाट एमालेका उम्मेदवार थिए । अधिकारी ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वा्चित भएका थिए भने ०५१ सालको निर्वाचनमा काठमाण्डु क्षेत्र नम्बर ३ बाट निर्वाचित भई प्रधानमन्त्री बनेका थिए ।
यसैबीच, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निष्ठाको खडेरी परेको नेपाली राजनीतिमा अधिकारीको अभाव सधैं खड्किरहने बताएका छन् । मनमोहन स्मृति दिवसका अवसरमा ओलीले जारी गरेको वक्तव्यमा मनमोहन अधिकारीको ‘आराम नै हराम’ हो भन्ने उक्तिले आफूहरु सबैलाई निरन्तर प्रेरित गरेको उल्लेख छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend