बुटवल २५, भदौ । पानीबाट गाडी चल्छ भन्दा जो कोहीलाई अचम्म लाग्ला। तर, नेपालमा यो सम्भव भएको छ । यहाँका एक युवा इन्जिनियरले पानीबाट गाडी चलाउने उपकरण तयार परेका छन्। जसलाई जुनसुकै गाडी तथा मोटरसाइकलमा प्रयोग गर्न सकिन्छ ।
बुटवल मिलनचोकका युवा शिशिर जिसीले ‘फ्युल सेभर किट’ तयार पारेका छन्। भारतको बैंगलोरबाट मेकानिकल इन्जिनियररिङ गरेका उनले साना गाडी र मोटरसाइकलमा प्रयोग गर्न सकिने डिभाइस बनाएका हुन्।
यो डिभाइसको प्रयोगले इन्धन बिना नै गाडी चल्ने भने होइन। ४० प्रतिशत पानी र ६० प्रतिशत इन्धनको प्रयोगबाट गाडी चल्छ। ‘फ्युल सेभर किट’ नामक डिभाइसमा प्रशोधित पानी राखिन्छ।
पानीबाट हाइड्रोजन र अक्सिजन छुट्छन्। हाइड्रोजन ग्यास पाइपलाई गाडीको इन्जिनमा लगेर जोडिन्छ। हाइड्रोजनको क्षमता पेट्रोलभन्दा तीनगुणा बढी हुने भएकाले यसले इन्धनले गर्नुपर्ने ४० प्रतिशत काम गर्छ। यतिमात्रै होइन, यो डिभाइसले इन्जिनको क्षमता बृद्धि, पिकअप पावरबृद्धि र आवाजसमेत कम गर्ने इन्जिनियर जिसीले बताए।
हाइड्रोजन ग्यास प्रयोगपछि गाडीले फाल्ने दुषित कार्बनमोनोअक्साइड जस्ता ग्यासको उत्सर्जन ५० प्रतिशत कम हुन्छ। इन्धनमा ४० प्रतिशत, इन्जिन क्षमता बृद्धि, वातावरण प्रदुषणसमेत ५० प्रतिशतले कम हुने उनले दाबी गरेका छन्।
०७२ सालमा भएको नाकाबन्दीका बेला शिशिरले यो प्रोजेक्टको कल्पना गरेका थिए। डेढ वर्षअघि डिभाइस बनाएर आफ्नै गाडीमा फिट गरे। यसले सकारात्मक नतिजा दिएपछि अझै सुधार गर्दै उनले यो डिभाइस तयार पारेका हुन्।
कार जिपमा प्रयोग गर्न मिल्ने डिभाइसको साइज ३० सेन्टिमिटर चौडाई र ३० सेन्टिमिटर उचाईको छ। मोटरसाइकलको लेगगार्डमै डिभाइस राख्न सकिन्छ भने ठुला गाडीको केही ठुलो छ । यो समाचार अन्नपूर्ण दैनिकमा छापिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend