काठमाडौ ८ भदौ । नेपाल केम्पो खुकुरी मार्शल आर्टस् संघको तेस्रो साधारण सभा एक कार्यक्रम बिच सम्पन्न भएको छ । कार्यक्रमको उद्घघाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले मानिसको स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएकाले संघले अघि सारेको खेलबाट सबैले फाइदा उठाउनुपर्नेमा जोड दिनुभयो ।नेकपाका केन्द्रीय सदस्य एवम् संघका सल्लाहकार राजेन्द्र पाण्डेले खेलले व्यक्तिको प्रगति र स्वास्थ्यका लागि फाइदा हुने भएकाले संघले अघि सारेको कार्य सराहनीय भएको बताउनुभयो ।

‘केम्पो मार्शल आर्टस् विदेशी खेल हो’, पाण्डेले भन्नुभयो, ‘केम्पोसँगै खुकुरी थपेर मौलिक नेपाली खेलको रुपमा अन्तर्रा्ष्ट्रिय जगतमा चिनाउन संघले भूमिका खेलोस् ।’ नजिक आइरहेको साफ खेलकुदमा केम्पो खुकुरी मार्शल आर्टले भाग लिन र सफलता प्राप्त गर्न सकोस् भन्दै पाण्डेले खेल क्षेत्रका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग हुने प्रष्ट पार्नुभयो ।

संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले विगतमा सिमित व्यक्तिबाट मात्र नेपाल केम्पो खुकुरी मार्शल आर्टको गठन भएको तर अहिले सातै प्रदेश र ६५ जिल्लामा संगठन पुगिसकेको जानकारी दिनुभयो ।‘यो खेललाई अन्तर्रा्ष्ट्रिय जगतमा चिनाउनका लागि अन्तर्रा्ष्ट्रिय स्तरको कभर्ड हल बनाउने कार्यको शुरुवात गरेका छौं’ पाण्डेले भन्नुभयो, ‘हल निर्माणका लागि काभ्रेपलाञ्चोक जिल्लाको नालामा १२ रोपणी जग्गा प्राप्तीको काम भइसकेको छ ।
’ खेलमार्फत नेपालीको अस्तित्व र पहिचान विश्वभर पुर्याउन संघले महत्वपूर्ण भूमिका खेलिरहेको अध्यक्ष पाण्डेको भनाइ थियो ।
कार्यक्रममा पूर्व गृहसचिव उद्दव तिमल्सिना, संस्थाका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता केदार कोइराला लगायतले खेल विकासका लागि संघले शुरु गरेको कार्य सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा अन्तर्रा्ष्ट्रिय स्तरको सभाहल निर्माणका लागि काभ्रेको नालामा जग्गा प्रदान गर्नुहुने समाजसेवी सुरेन्द्र श्रेष्ठलाई सम्मान पत्र तथा खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा अन्जना शाही, अशोक खड्का नेतृत्वको खेलाडी टोलीले केम्पो खुकुरी मार्शल आर्टसँग सम्बन्धित विविध खेल प्रस्तुत गरेका थिए ।
सो साधारण सभाबाट संघका अध्यक्ष पूर्णप्रसाद पाण्डे नेतृत्वको समितिमा रिक्त उपाध्यक्षमा निरोज पाण्डे, राजनप्रसाद पराजुली, ज्ञानेन्द्र आचार्य, उत्तरा नेपाल, बज्रध्वज वाइबा र सागर पाण्डे चयन गरेको छ ।
महासचिवमा रमेश नराल, उपमहासचिव निर्मल त्रिपाठी, सचिव प्रदिप रुपाखेती, कोषाध्यक्षमा नकुल चौलागाई साथै सदस्यहरुमा अशोक खड्का, सुरेन्द्र गुरुङ, उमा थपलिया, सुकदेव रिसाल, बिष्णु ढकाल र गणेश लामिछाने निर्वाचित भएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend