डोल्पा १४ असार । डोल्पामा कर्मचारी र कार्यालय प्रमुखबीच कुटाकुट भएपछि पक्राउ परेका सात कर्मचारी पाँच दिनदेखि थुनामा छन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डका निमित्त संरक्षण अधिकृत र अन्य कर्मचारीबीच कुटाकुटा हुँदा सात कर्मचारी पक्राउ परेका थिए।
गत ८ गते पोष्टबाट कार्यालयमा फर्किएका कर्मचारीले यार्सागुम्बा संकलनको राजश्व जम्मा गर्ने विषयमा निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादव र कर्मचारीबीच विवाद भएपछि हातहालाहालको अवस्था सिर्जना भएको थियो।
पोष्टबाट आएका कर्मचारीले बैँकमा जम्मा गर्न अनुमति मागेको र प्रमुख यादवले पूरै हिसाब गरेर मात्रै जम्मा गर्न भनेपछि बिबाद बढेको थियो।
पोष्टको टोलीले झण्डै ७० लाख राजश्व बैंकमा जम्मा गरेको विषयलाई लिएर साँझ मदिरा सेवन गरेर निमित्त संरक्षण अधिकृत यादव, सहायक संरक्षण अधिकृत गोपाल खनाल र रेन्जर छत्र खड्गामाथि आक्रमण भएको थियो।
हाकिम र कर्मचारीबीच झगडा हुँदा खरिदार देवेन्द्र जिसी, मनिकृष्ण पाण्डे, हरि रावल, डिल्ली सुनार, महेश्वर रावल, खगेन्द्र भण्डारी र प्रकाश बुढा पाँच दिनदेखि प्रहरीको नियन्त्रणमा रहेका छन्। यता थुनामा रहेका कर्मचारी भने आफूले हातपात नगरेको तर यार्सा संकलबाट राजश्व लिँदाको दुःखबारे जानकारी गराउँदै गर्दा उल्टै हातपात भएको बताउँछन्।
कर्मचारीको छाता संगठनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी डोल्पा पुगेर तत्काल रिहा गर्न भन्दै ज्ञापनपत्र पेश गरेका छन्। त्यसलगत्तै छाड्ने बताइएको भए पनि पाँच दिनसम्म पनि कर्मचारी थुनामै छन्।
याता जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले भने घटना घटेको एक साता बित्न लाग्दा समेत गुपचुपमा राखेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend