सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बिवादित कतार भिसा सेन्टरमा को–को संलग्न ?

बिवादित कतार भिसा सेन्टरमा को–को संलग्न ?

काठमाडौ २२ जेष्ठ । वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारमाथि लादिएको सिन्डिकेट नहट्दै कतार जाने कामदारमाथि सिन्डिकेट सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अडानका बाबजुद परराष्ट्र मन्त्रालयले एक निजी कम्पनीलाई स्थानीय एजेन्टमार्फत कतार भिसा सेन्टर (क्युभिसी) सञ्चालन गर्न अनुमति दिएसँगै अर्को सिन्डिकेट सुरु भएको हो ।

कामदारबाट कुनै शुल्क नलिने गरी परराष्ट्रले अनुमति दिएको बताए पनि एक साता नबित्दै भिसा सेन्टरले कतार जाने प्रत्येक नेपाली श्रमिकले लाउन्ज शुल्कका रूपमा ३ हजार ८ सय ६५ रुपैयाँ तिर्नुपर्ने सूचना जारी भएको छ । कतारको गृह मन्त्रालयले सिंगापुरमा मुख्य कार्यालय रहेको बायोमेट सर्भिसेस प्रालिलाई आठ देशमा आफ्नातर्फबाट निश्चित भिसासम्बन्धी प्रक्रिया सञ्चालन गर्ने अनुमति दिएको छ ।

त्यसैअन्तर्गत स्थानीय एजेन्टमार्फत नेपालको कानुनअनुसार क्युभिसी सञ्चालनको अनुमति दिइएको परराष्ट्र मन्त्रालयको दाबी छ । तर, यस्तो अनुमति दिने कानुनी आधार परराष्ट्रसँग नभएको श्रम मन्त्रालयका उच्च अधिकारी बताउँछन ।

कतार भिसा सेन्टरमा को–को संलग्न ?

पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङको नेतृत्वमा कतार भिसा सेन्टर स्थापना र सञ्चालनको काम अगाडि बढेको स्रोतले बतायो । त्यस्तै, कतारका लागि निवर्तमान राजदूत रमेश कोइराला, शेरबहादुर देउवापत्नी आरजू राणाका भाइ भूषण राणा र निर्माण व्यवसायी रविन गुरुङ समेत कतार भिसा सेन्टरमा संलग्न रहेको स्रोतले जनायो । एसओएस म्यानपावरका अध्यक्ष हेम गुरुङ त खुला रूपमै सक्रिय देखिएका छन् ।

विगतमा मलेसियाको बायोमेट्रिक प्रणालीविरुद्ध देखिएको वैदेशिक रोजगार व्यवसायी संघ यसपटक कतार भिसा सेन्टरको सन्दर्भमा भने मौन छ । केही समयअघि कतार भिसा सेन्टरको प्रस्ताव अस्वीकार गरेकै कारण संघका अध्यक्ष रोहन गुरुङ र श्रममन्त्री गोकर्ण विष्टको सम्बन्ध बिग्रिएको संघका पदाधिकारी बताउँछन । यो समाचार आजको नया“ पत्रिका दैनिकमा छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend