बैशाख १४
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले “सरकारको चालू योजना र निकट भविष्यका योजनाबारे राम्रोसँग बुझे पछि मात्रै आलोचना गर्न आग्रह गरेका छन् । उनले विकासका समाचार नसमेट्ने टेलिभिजन र मोबाइलबाट सामाजिक सञ्जालमा विकृती फैलाएको मात्र हेर्नेहरु ‘पिँजडाका चरी’ बन्ने बताए ।
काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता दिलीप शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ नामक पुस्तक शनिवार विमोचन गर्दै मन्त्री बाँस्कोटाले भने, “विकास हेर्ने दिमाग बक्समा सीमित पारेर संकुचित बन्नु हुन्न, पहिला बक्सबाट दिमाग निकाल्नुस् अनि विकास हेर्न राजमार्ग र गाउँगाउँमा दौडनुस् । टेलिभिजन र मोबाइलमा कोकोहोलो मच्चाउनेको दिमाग ‘बक्सदेखि बक्ससम्म’ मात्रै हुन्छ, त्यस्ता क्रियाकलाप हेरेर पिँजडाका चरी नहुनोस् ।”
मन्त्री बाँस्कोटाले अधिकांश सञ्चार माध्यमले विकासका कामलाई प्रकाशन प्रसारण गर्न कञ्जुस्याइँ गरेको आरोप लगाए । मन्त्री बाँस्कोटाले वर्तमान अवस्थामा ५२ प्रतिशत नेपालीमा श्रमशक्ति भएकाले समृद्धिको अभियानमा अवसर भएको बताए । “यो श्रमशक्ति सधैँभरि रहन सक्दैन, यही अवसरमा इच्छा शक्तिमार्फत उत्पादनतर्फ लाग्नुपर्छ”, उनले भने। उत्पादन र समृद्धिको सम्बन्ध क्रान्तिकारी ढङ्गले अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादेले स्थानीय तहले सहकारीलाई सूचीकृत गर्दै उनीहरुको गतिविधि नियमितरुपमा अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले बैंकमा ११ हजार सहकारी आबद्ध भएको जानकारी दिँदै देशका करीब ३५ हजार सहकारीमध्ये १३० वटामा समस्या आएकाले क्रमैसँग समाधान गर्दै जाने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend