सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रविलाई श्वास फेर्ने हावा समेत नभएको कोठामा साह्रै खराब हालतमा राखिएको छ: मानव अधिकार आयोग

रविलाई श्वास फेर्ने हावा समेत नभएको कोठामा साह्रै खराब हालतमा राखिएको छ: मानव अधिकार आयोग

२६ साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रास्वपा सभापति रवि लामिछानेलाई  कारागारमा अमानवीय र यातनापूर्ण तरिकाले राखिएको बताएको छ।  आधारभुत सुविधाबाट वन्चित गरेर उनलाई साह्रै खराब हालतमा राखिएको , कोठामा सास फेर्ने हावा समेत नछिर्ने गरेर झ्याल थुनिएको , पत्रपत्रिका समेत पढ्जन नदिएर प्रतिशोध राखेको देखिएको आयोगले जनाएको छ।

आयोगकी सदस्य लिली थापा नेतृत्वको टोलीले सोमबार भैरहवास्थित कारागारमा निरीक्षण गरेपछि लामिछानेलाई राखिएको कोठामा झ्याल समेत नभएकाले र बाहिर खुला हावामा जान नदिइएको जनाएको हो । ‘उहाँहरुलाई एकदमै खराब हालत राखिएको रहेछ,’ अनुगमनपछि थापाले सञ्चारकर्मीसँग भनिन्,‘रविजीलाई राखिएको कोठामा एसि छैन, झ्याल बन्द गरिएको रहेछ, प्रशासनले सुरक्षाको कारण भनेको छ, हामीले आज भनेपछि छिट्टै म्यानेज गर्छाै, झ्याल खोलिदिन्छौं भन्नुभएको छ ।’

रविलाई थुनिएको कोठामा दुई वटा पंखा रहेको तर बाहिरबाट हावा आउने ठाउँ नै नभएकाले पंखाको हावाले नपुग्ने अवस्था रहेको सदस्य थापाले बताइन् । शौचालयको अवस्था पनि असाध्यै खराब रहेको र पानीको समेत अभाव रहेको आयोगले जनाएको छ । राज्यले लामिछानेको मानवअधिकारको संरक्षण गरेको नदेखिएको अनुगमनपछि सदस्य थापाको टिप्पणी छ। लामिछानेलाई स्वच्छ हावामा हिडडुल गर्न नदिएर न्यूनतम मानव अधिकारको समेत हनन गरिएको थापाले बताइन्।

त्यस्तै , थापाले रविलाई स्थानान्तरणका लागि अनुमति नदिइएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिन् । ‘अदालतले भनिसक्दा पनि उहाँलाई जेल सार्न दिइएको रहेनछ । यस विषयमा कारागार व्यवस्थापन विभागसँग कुरा गर्छौँ,’ उनले भनिन् । कारागारमा पत्रपत्रिका नआउने भएकाले रविसमेत त्यो सुविधाबाट वञ्चित रहेको थापाले जानकारी दिइन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend