२३ साउन,काठमाडौं । निजी क्षेत्रको इतिहासमै सबैभन्दा ठूलो जलविद्युत आयोजना बुढीगण्डकी अर्धजलाशय (३४१ मेगावाट) मा हिजो भब्य समारोहका बीच लगानी सम्झौता भएको छ। साहस उर्जा लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले गोरखा जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिका क्षेत्रमा निर्माण गर्न लागेको यो आयोजना हालसम्मकै निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हुने भएको हो।
सम्झौता कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का लगायत सरकारी तथा निजी क्षेत्रका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। परियोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० वटा बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा गरिने भएको छ। लिड बैंकको भूमिकामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ भने नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंक सहायक लिड बैंकका रूपमा रहनेछन्।
कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण अर्थात् ५२ अर्ब ५० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउने छन् भने बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५० करोड रुपैयाँ स्वपुँजी रहनेछ। साहस उर्जाले सो स्वपुँजीको ५१ प्रतिशत हिस्सा अर्थात् ८ अर्ब ९२ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ। कम्पनीले संस्थापक सेयरमार्फत १० करोड रुपैयाँसम्मको लगानी अवसर खुला गरी हकप्रद सेयर समेत निष्कासन गरिसकेको छ।
लगानी संरचना अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० अर्ब, नबिल बैंक र लक्ष्मी सनराइज बैंकले समानरूपमा ८–८ अर्ब, ग्लोबल आईएमई बैंकले ७ अर्ब, एचआईडिसिएल र माछापुच्छ्रे बैंकले ४–४ अर्ब, निफ्राले ३ अर्ब, सिटिजन्स बैंक र प्रभु बैंकले समान ३–३ अर्ब तथा कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन्।
आयोजनाको बाँध गोरखाको सल्लेरीमा निर्माण हुनेछ। त्यहाँबाट ६.८ किलोमिटर लामो भूमिगत सुरुङमार्फत धार्चे–३ को तातोपानीस्थित पावर हाउसमा विद्युत उत्पादन गरिनेछ। त्यहाँबाट उत्पादन हुने विद्युत ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमा जोडिनेछ, जसको निर्माण अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गत भइरहेको हो।
साहस उर्जाका अध्यक्ष हिमप्रसाद पाठकका अनुसार आयोजना २०८७ सालभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको हो। यो आयोजनाको लाइसेन्स साहस उर्जाले दिपक मलहोत्रा समूहसँग खरिद गरेको हो। परियोजना निर्माणको योजना, लगानी संरचना र निजी क्षेत्रको सहभागितासहितको यो प्रयास नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक मोडका रूपमा रहने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend