१७ साउन,काठमाडौं । नेपाली फिटनेस क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको ‘नेपाल फिटनेस एक्स्पो २०२५’ आयोजना गरिने भएको छ । आगामी भदौ १४ गते काठमाडौंको मल्ल होटेलको प्रांगणमा हुने यस भव्य कार्यक्रममा फिटनेससम्बन्धी विभिन्न गतिविधि, प्रदर्शनी र सम्मान कार्यक्रमहरू समावेश गरिनेछन् ।
क्लासिक फिटनेस एकेडेमीको आयोजनामा तथा रिगल इभेन्ट्सको व्यवस्थापनमा हुने एक्स्पोको घोषणा पत्रकार सम्मेलनमार्फत गरिएको हो । आयोजकका अनुसार यो एक्स्पोले नेपाली फिटनेस उद्योगलाई व्यवस्थित गर्दै अन्तर्राष्ट्रिय बजारसँग जोड्ने प्रयास गर्नेछ ।
क्लासिक फिटनेस एकेडेमी नेपालका संस्थापक निर्देशक रोजल शाहीले एक्स्पो नेपाली फिटनेस इतिहासमा एक कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनका अनुसार कार्यक्रमले फिटनेसलाई केवल शारीरिक अभ्यासको रूपमा नभई समग्र जीवनशैलीसँग जोड्नेछ ।
कार्यक्रममा भारत, मलेसिया लगायतका देशहरूबाट फिटनेस इन्फ्लुएन्सर, प्रशिक्षक तथा व्यवसायिक व्यक्तित्वहरू सहभागी हुनेछन् । साथै, नेपाली दर्शकहरूका लागि फिटनेस उपकरण, सप्लिमेन्ट, फ्यासन शो, मिट एण्ड ग्रिट सेसन जस्ता विभिन्न प्रदर्शनी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछ ।
फिटनेस क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई ‘राइजिङ स्टार’, ‘बेस्ट कोच अफ द इयर’, ‘बेस्ट एथलिट’ तथा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गरिने बताइएको छ ।
करीब ७० लाखको लगानीमा आयोजना हुने उक्त एक्स्पोमा करिब ३ हजार दर्शकको सहभागिता हुने अनुमान गरिएको छ । कार्यक्रममा सबै उमेर समूहका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको छ ।
वरिष्ठ फिटनेसकर्मीहरू सुरेश सुवेदी, दिनेश राजभण्डारी र नारायण प्रधानले एक्स्पोले युवालाई स्वस्थ जीवनशैलीमा आकर्षित गर्ने र दुर्व्यसनबाट टाढा राख्ने अपेक्षा व्यक्त गरे । क्लासिक फिटनेस एकेडेमीकी म्यानेजिङ डिरेक्टर रचना राणाभाटले एकेडेमीले नेपालमा फिटनेस शिक्षालाई व्यवस्थित रूपमा अगाडि बढाउने लक्ष्य लिएको बताइन् ।
कार्यक्रमका प्रमोटर सन्तोष श्रेष्ठका अनुसार यो एक्स्पोले नेपाली फिटनेस जगतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ऐतिहासिक अवसर प्रदान गर्नेछ । आयोजकले मल्ल होटेलमा हुने यो भव्य कार्यक्रममा सबैलाई सहभागी हुन आह्वान गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend