सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा

 

१६ साउन, काठमाडौं । काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा मन्त्री थापाले यो पुनः सञ्चालन स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक सकारात्मक र स्वागतयोग्य कदम भएको उल्लेख गर्दै सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गरे। उनले जनउत्तरदायी, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रवर्द्धनमा मन्त्रालयको निरन्तर साथ रहने प्रतिबद्धता पनि जनाए।

अस्पताल पुनः सञ्चालनको अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा उपलब्ध गराउने घोषणा गरिएको छ। यो सेवा अर्को सूचना नआएसम्म निःशुल्क रूपमा नै जारी रहनेछ। साथै, विशेषज्ञ सेवा अन्तर्गतका सबै विभाग—जस्तै जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक-कान-घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क प्रदान गरिनेछ।

त्यसैगरी, आपतकालीन सेवा चौबीसै घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स-रे र फिजियोथेरापी सेवामा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको छ। बिरामीहरूको सहजतालाई मध्यनजर गर्दै अस्पताल परिसरमै फार्मेसी सेवा समेत उपलब्ध गराइएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको पुनः सञ्चालनलाई ऐतिहासिक र हर्षको दिनको रूपमा स्मरण गरे। केही समय स्थगनमा रहेको अस्पताललाई पुनः सक्रिय बनाउनुको मूल उद्देश्य चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा सशक्त बनाउनु रहेको उनले बताए। अन्सारीले विगतमा नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालन गरेर प्राप्त सफल अनुभवलाई काठमाडौंमा पनि दोहोर्याउने प्रतिबद्धता जनाए। उनले भने, “हामी जनताको आधारभूत आवश्यकताको रूपमा रहेको स्वास्थ्य सेवामा आफ्नो कर्तव्य मात्र होइन, प्रतिबद्धता पनि पूरा गर्दैछौं।”

कार्यकारी प्रमुख (सीईओ) जहाँगिर अन्सारीले अस्पताल काठमाडौं शहरको केन्द्रमा अवस्थित भएकाले सहज, सुलभ र गुणस्तरीय सेवा दिनु आफूहरूको मुख्य उद्देश्य भएको स्पष्ट पारे। उनले पुनः सञ्चालनको अवसरलाई नागरिकप्रति उत्तरदायित्व प्रस्तुत गर्ने माध्यमका रूपमा लिएको उल्लेख गर्दै भने, “हाम्रो लक्ष्य मात्र अस्पताल सञ्चालन गर्नु होइन, स्वास्थ्य र चिकित्सा शिक्षा दुबै क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउनु हो।”

त्यस्तै, अस्पतालका व्यवस्थापक दिलिप साहले पुनः सञ्चालनलाई नागरिकहरूको विश्वास जित्ने, गुणस्तरीय सेवा उपलब्ध गराउने र स्वास्थ्य शिक्षा क्षेत्रमा उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा लिएको बताए। उनले पनि प्रारम्भिक चरणमा ओपीडी निःशुल्क सेवा, अन्य सेवा क्षेत्रमा छुट र २४ सै घण्टा आपतकालीन सेवा उपलब्ध हुने जानकारी दिए।

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको पुनः सञ्चालनसँगै चिकित्सा शिक्षा र नागरिक स्वास्थ्यसेवामा एक नयाँ ऊर्जा थपिएको छ। निःशुल्क सेवा र विशेष छुटले अस्पतालले जनताको विश्वास जित्दै चिकित्सा क्षेत्रमा आदर्श मानक स्थापनातर्फ ठूला पाइला चाल्ने संकेत देखाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend