सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

तुइनमा झुन्डिएको कर्णाली 

तुइनमा झुन्डिएको कर्णाली 

 

१४ साउन,  काठमाडौं । “सुखी नेपाली, समृद्ध नेपाल” — यो देशको आधिकारिक नारा हो। तर यसको अर्थ हरेक नेपालीका लागि फरक-फरक हुन सक्छ। कर्णालीका हजारौं नागरिकका लागि भने सुखको पर्याय बनेको छ—पुल। आज पनि थुप्रै गाउँहरूमा मोटरबाटो त परै जाओस्, खोलानाला तर्नका लागि झोलुंगे पुल पनि छैन। जहाँ तुइन बनेको छ—जिन्दगी पार गर्ने ‘डोर’। त्यो पनि यस्तो डोर, जसमा जीवनको प्रत्याभूति छैन, बरु सासको सट्टामा मृत्युको सम्भावना बढी हुन्छ।

कर्णालीवासीको जीवन आज पनि तुइनमा अडिएको छ। मुगुका मकरसिंह नेपाली वा डोल्पाकी तुला बोहरा, उनीहरूको मृत्युको साझा कारण थियो—तुइन। यस्ता दुर्घटनाहरू वर्षेनि दोहोरिन्छन्, तुइन चुँडिन्छन्, ज्यान जान्छन्। अनि प्रश्न उठ्छ—के नेपाली नागरिकको जीवन यति सस्तो हो? तुइनबाट खसेर कति जनाले ज्यान गुमाए भन्ने तथ्यांक नै राज्यसँग छैन, जसले राज्यको संवेदनहीनता र कर्णालीप्रति हेपाहा व्यवहार झन् प्रस्ट पारेको छ।

२०७३ सालमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले “तुइनमुक्त नेपाल” को घोषणा गरेका थिए। तर त्यो वाचा पनि तुइनजस्तै चुँडियो। घोषणा त आयो, तर तुइनको डोरीमा लट्किएको नागरिकको भरोसा झन्झन् कमजोर बन्यो। आज पनि थुप्रै नागरिकहरू पुरानै तुइनमा जोखिम मोलेर नदी तर्न विवश छन्। “सुखी नेपाली” को नारामा उनीहरूको नाम छैनजस्तो लाग्छ।

कर्णालीवासीका लागि तुइन रहर होइन, बाध्यता हो। आँखा चिम्लेर, कुलदेवता सम्झेर खोला तर्ने अवस्था उनीहरूको दिनचर्या बनिसकेको छ। यो केवल यातायातको प्रश्न होइन, यो मानवअधिकार र जीवनको सुरक्षा सुनिश्चित गर्ने संवैधानिक दायित्वसँग जोडिएको विषय हो। तर राज्यले यसप्रति अहिलेसम्म गम्भीर चासो देखाउन सकेको छैन।

झोलुंगे पुल बनाउन ठूलो रकम आवश्यक पर्दैन। यो अर्बौं खर्च हुने योजना होइन, केवल इच्छाशक्ति र नागरिकप्रति उत्तरदायित्व चाहिने विषय हो। तर त्यसमा पनि राज्य चुकेको छ। संघीय सरकारले गरेको तुइनमुक्त नेपालको वाचा घोषणा हुँदै हरायो। अहिले कर्णाली प्रदेश सरकारले “तुइनमुक्त कर्णाली” अभियान सुरु गरेको छ। तर यो पनि कतै खोक्रो नारामा सीमित नहोस् भन्ने आशंका जनस्तरमा देखिएको छ।

विकास, समृद्धि, गगनचुम्बी योजनाहरूको कुरा धेरै भयो। अब त देशले बुझ्नुपर्छ—वास्तविक समृद्धि त्यतिबेला आउँछ, जब नागरिक सुरक्षित हुन्छन्। तुइन चुँडिने होइन, विस्थापित हुने हो। अनि मात्रै नाराको अर्थ पूरा हुन्छ—”सुखी नेपाली, समृद्ध नेपाल।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend