१४ साउन, काठमाडौं । नेपालमा लिपमोटरको आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले राजधानीको उत्तरढोकास्थित आफ्नै शोरूममा लिपमोटर बी१० गाडीको ‘स्निक प्रिभ्यु’ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा केही मिडिया प्रतिनिधि र अटो पारखीहरूले यो बहुप्रतिक्षित इलेक्ट्रिक गाडीको पहिलो झलक पाउने अवसर पाए। स्मार्ट डिजाइन, अत्याधुनिक प्रविधि र सहज प्रदर्शनको कारण पहिल्यै चर्चा बटुलेको लिपमोटर बी१० नेपालमा पहिलोपटक सार्वजनिक रूपमा देखाइएको हो।
६७.१ किलowatt आवर क्षमताको ब्याट्रीयुक्त यो मोडलले एकपटकको चार्जमा डब्लुएलटीपी मापन अनुसार ४६० किलोमिटर रेन्ज दिने बताइएको छ। १६० किलowatt क्षमताको मोटर जडान गरिएको यस गाडीले पावर र स्पिडबीच सन्तुलन कायम राख्ने र यात्रु सुरक्षाका लागि युरो एनक्यापबाट ५–स्टार सेफ्टी रेटिङ पाएको कम्पनीले जानकारी दिएको छ।
स्निक प्रिभ्यु कार्यक्रममा सहभागी अतिथिहरूले गाडीको आकर्षक डिजाइन, स्मार्ट फिचरहरू र उत्कृष्ट ड्राइभिङ अनुभव प्रत्यक्ष अवलोकन गर्न पाए। साङ्ग्रिला मोटर्सका अनुसार लिपमोटर बी१० नेपाली ईभी बजारमा नयाँ स्तर स्थापना गर्ने अपेक्षा गरिएको छ।
गाडीको औपचारिक लन्च तथा मूल्य सार्वजनिक कार्यक्रम आगामी साउन २१ देखि २५ सम्म हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा हुने बताइएको छ। यद्यपि मूल्य त्यसै कार्यक्रममा घोषणा गरिने भए पनि कम्पनीले लिपमोटर बी१० को अनुमानित मूल्य ६० लाख रुपैयाँभन्दा कम हुने संकेत दिएको छ, जसले यो सेग्मेन्टमा प्रतिस्पर्धी मोडलको रूपमा उभिने विश्वास गरिएको छ।
साङ्ग्रिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने, “आजको स्निक प्रिभ्यु कार्यक्रम, यो गाडीले के दिन सक्छ भन्ने कुराको झलक मात्र हो। डिजाइन, प्रविधि र पर्फर्मेन्सका हरेक हिसाबले लिपमोटर बी१० साँच्चिकै ‘पर्फेक्ट १०’ हो।” उनले आगामी नाइमा एक्स्पोमा गाडीको औपचारिक सार्वजनिक प्रदर्शन गरिने र यसले नेपाली ग्राहकहरूको ईभीप्रतिको सोचाइमा महत्वपूर्ण परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
गोल्छा अर्गनाइजेसन अन्तर्गतको साङ्ग्रिला मोटर्सले पुजो, सिट्रोन र लिपमोटरजस्ता ब्रान्डमार्फत नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउँदै आएको छ। कम्पनीले स्मार्ट तथा दिगो यातायात समाधानलाई नेपाली बजारमा विस्तार गर्ने दीर्घकालीन प्रतिबद्धता व्यक्त गर्दै आएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend