सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा दुई दलितबस्ती भूमाफियाले हडपेका छन् । मिर्चैया नगरपालिका–७ फूलबरियामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् । उनीहरू यहाँ झन्डै ९० वर्षदेखि बसिरहेका छन । तर, गत वर्ष स्थानीय जनप्रतिनिधिको मिलेमतोमा उनीहरूको जग्गा अरूले खरिद–बिक्री गरिदिएका छन् ।
स्थानीय ६५ वर्षीय घुरन रामका अनुसार सिरहाको कल्याणपुर जब्दीका जग्गाधनी हजारी साहू भनिने रामचन्द्र साहलाई झन्डै ९० वर्षपहिले नै जग्गाको रकम बुझाएर यहाँ बस्ती बसाइएको थियो । उतिवेला जमिनदारले अनेक बहाना बनाएर जग्गा पास गरिदिएनन ।
अहिले दिवंगत हजारी साहूका नातिहरू श्रवणकुमार साह, दीपनारायण साह, सत्यनारायण साह, रामेश्वर साहलगायतले ९ मंसिर ०७५ मा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरका जग्गा कारोबारी सुरेशकुमार महतोलाई दलितबस्ती रहेको ६ कट्ठा जमिन बिक्री गरेको स्थानीयले बताए । वडाध्यक्ष रामकुमार यादवले जग्गामा बस्ती तथा बाटोसमेत नरहेको सिफारिस दिएपछि जग्गा बिक्री भएको हो ।
सिंगै दलितबस्ती जग्गा दलालकहाँ बिक्री भएको सार्वजनिक भएपछि ६ पुस ०७५ मा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झासहितको टोली दलितबस्तीमा पुगेको थियो । उनीहरूले कानुनी प्रक्रियामा गए दलितको मुद्दा निःशुल्क लडिदिने आश्वासन दिएका थिए । तर, अहिले त्यो आश्वासन पूरा नभएको पीडितको गुनासो छ ।
त्यस्तै, मिर्चैया–९ रम्पुरामा १५ घर दलितबस्तीले चर्चेको सात कट्ठा १० धुर जग्गा किर्ते कागज तयार गरी बिक्री भएको छ । दुईजना व्यक्तिमा नामासारी भइसकेपछि मात्रै बस्ती बेचिएको स्थानीयले थाहा पाए ।
बस्तीका मानिसले मिलेर करिब ५० वर्षअघि सिरहा नगरपालिका–७ घर भएकी रासो धुनियाइन मियाँसँग साबिक सिरहा फूलबरिया वडा नं. १ ९ङ० कित्ता नं। १८ को सात कट्ठा १० धुर जग्गा किनेका थिए । त्यसपछि त्यहाँ बस्ती बसेको स्थानीय रामेश्वर महराले बताए ।
‘हामीले जग्गाको पैसा उतिवेलै तिरेका थियौँ,’ महरा भन्छन्, ‘तर, आमा रासो र छोरा मन्सुर मियाँको मृत्यु भएपछि जग्गा किर्ते गरेर बेचिएको थाहा पायौँ ।’
साबिक लगडीगोठ–८ का रामबहादुर यादवका छोरा भरत यादवले बस्ती रहेको जग्गा १० असोज ०७० मा मियाँको नामबाट आफ्नो नाममा ल्याएका रहेछन् । उनले १० असार ०७५ मा मालपोत कार्यालय सिरहाबाट गोलबजार नगरपालिका–८ चोहर्वा बस्ने आफ्ना फुपूको छोरा रामपरीक्षण यादवको नाममा दर्ता गरिदिएका छन ।
जग्गा दर्ता गराउँदा उनीहरूले मिर्चैया–९ का वडाध्यक्षलाई समेत मिलोमतोमा लिएको देखिन्छ । रामपरीक्षणको नाममा जग्गा दर्ता गर्ने बेला वडाध्यक्ष मोहनप्रसाद पोखरेलले सो जग्गामा बस्ती, बाटो केही नभएको बेहोरासहितको सिफारिसपत्र १४ जेठ ०७५ मा दिएका थिए । यसबारे प्रश्न गर्दा वडाध्यक्ष पोखरेलले आफूलाई झुक्याएर सिफारिस लिएको दाबी गरे । ‘वडामा यत्रो जग्गा छ, मलाई थाहा भएन । झुक्याएर उनीहरूले सिफारिस लिए,’ उनले भने ।
तर त्यो बस्ती वडा कार्यालयदेखि मात्र ५० मिटरको दूरीमा छ । अब दलित बस्तीलाई मुद्दामा सघाउने वचन पनि पोखरेलले दिए । बस्ती नै बिक्री भएपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । प्रशासनले छानबिन गरिरहेको बताएको छ ।
६ बिघा ६ कठ्ठा जग्गा भूमाफियाको कब्जामा
सिरहाका विभिन्न ठाउँमा भूमाफियाहरूले मालपोत तथा नापी कार्यालयका कर्मचारीको सेटिङ्मा किर्ते कागजात बनाएर सार्वजनिक तथा निजी जग्गा हड्पेका छन । सिरहाको बेलहा, हकपारा, बङ्ठिया, चोहर्वा, मिर्चैयाको दुई वटा वडा गरी छ विघा छ कठ्ठा आधा धुर सार्वजनिक तथा निजी जग्गा कीर्ते गरेर भूमाफियाहरूले आफ्नो नाममा ल्याएका हुन ।
सिरहाको पूर्व पश्चिम सडकसँगै जोडिएको गोलबजार नगरपालिका ९ ९साविक चन्द्रउदयपुर गाविस–८० स्थित ५० करोडभन्दा बढी मूल्यको दुई बिघा सात कठ्ठा १५ धुर क्षेत्रफलको जग्गा व्यक्तिको नाममा दर्ता भएको भेटिएपछि मुद्दा चल्दैछ । मुद्दामा सुकुम्बासी लालपूर्जा बनाएका गोलबजार ५ का फौजबहादुर भट्ट क्षेत्री, किर्ते गरेर जग्गा किन्ने सिरहाको अर्नमा गाउँपालिका ५ कृष्णपुरकी अनितादेवी साह र लहान ८ की वीणाकुमारी चौधरी, सुकुम्बासी जिल्ला समाधान समिति सिरहा र समितिका तत्कालीन अध्यक्ष रजाक राइनलाई विपक्षी बनाइएको छ ।
तत्कालीन सुकुम्बासी जिल्ला समितिबाट २० असार २०५८ गते भट्टको नाममा कायम भएको जग्गाधनी दर्ता श्रेस्तामा पूर्व–पश्चिम सडकको कित्ता नं। ४१९ को एक कठ्ठा ८ धुर जग्गा समेत परेको छ । कित्ता नं. १२२ मा रहेको दुई बिघा नौ कठ्ठा तीन धुर जग्गाको केही भाग पूर्व पश्चिम सडकमा परेपछि कित्ताकाट भएको थियो ।
त्यसक्रममा कित्ता नं. ४१९ को एक कठ्ठा ८ धुर जग्गा सडकमा र बाँकी कित्ता नं. ४२० को दुई बिघा सात कठ्ठा १५ धुर मात्र थियो । तर सडकमा परेको जग्गासमेत दलालले आफ्नो नाममा पारेका छन् ।
नक्सा गायव, कित्ता नम्बर हेरफेर
सिरहाको बेलहा ९ को एक बिघा १७ कठ्ठा साढे १२ धुर र हकपारा ९ को १४ कठ्ठा ९तर कम्प्युटर अभिलेखमा ८ कठ्ठा रहेको० समेत जम्मा दुई बिघा ११ कठ्ठा साढे १२ धुर सरकारी जग्गा व्यक्तिको नाममा कायम भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार लहानस्थित नापी कार्यालयबाट चार महिनादेखि नक्सा गायब गर्दै केरमेट गरी कित्ता नं। हेरफेर तथा काल्पनिक बाटो सिर्जना गरिएको छ ।
त्यस्तै, तत्कालीन गा।वि।स। हकपारा वडा नं। ९ बङ्ठियास्थित कित्ता नं। ८१ को १४ कठ्ठा जग्गा सरकारको नाममा भएको जग्गा रामदयाल महतोको नाममा श्रेस्ता खडा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो समाचार नया“ पत्रिका दैनिकमा छापिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend