८ साउन , काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा नै बसेर उद्यमी , व्यवसायी बन्न सम्भव छ भन्ने भाष्य बनाउन निजी क्षेत्रले सरकारसँग सहकार्य गरिरहेको बताएका छन्। बिहीबार नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिटमा घरेलु लगानी र आर्थिक वृद्धिबारे धारणा राख्दै उनले घरेलु पुँजी परिचालनबाटै ठूला आयोजना बनाउन सकिने उल्लेख गरेका हुन्।
स्वदेशकै पुँजी परिचालन गरेर सम्भावनाको ढोका खोल्न सक्नुपर्ने अध्यक्ष ढकालले उल्लेख गरे। कोभिड महामारीले थिलोथिलो पारेको अर्थतन्त्रलाई संकुचनबाट जोगाउन महासंघको नेतृत्वमा रहेको हिसाबमा र आफैँ पनि लगानीकर्ता र व्यवसायी भएको हिसाबमा देशका लागि दिने योगदानबारे सोचेको उनले बताए।
त्यस्तै , सरकारले पनि निजी क्षेत्रको समस्या समाधान गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको, ३० भन्दा बढी कानुन संशोधन गरी लगानीमैत्री वातावरण निर्माणमा ध्यान दिएको उनले बताए। निजी क्षेत्रले सरकारको विरोध मात्रै गर्नुपर्छ भन्ने नरहेको र यो सोचलाई बदल्न आफ्नो नेतृत्वमा महासंघले ध्यान दिएको उनको भनाइ छ।
अहिले राजनीतिक दलहरूले मिसन ०८४ भनिरहेको तर अर्थतन्त्र सुधारको योजना अघि नसारेकोमा उनले चिन्ता व्यक्त गरे। अबको समृद्धिको आधारमा केके कुरा गर्न सकिन्छ भनेर चुनावको एजेन्डा प्रस्तुत गर्न र खाका तयार पार्न अध्यक्ष ढकालले आग्रह गरे।
( – नेपालखबरको सहयोगमा )
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend