सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अवैतनिक वाणिज्यदूत आर्थिक कूटनीतिका अग्रदूत : परराष्ट्रमन्त्री डा. आरजु राणा

अवैतनिक वाणिज्यदूत आर्थिक कूटनीतिका अग्रदूत : परराष्ट्रमन्त्री डा. आरजु राणा

 

७ साउन, काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल–विदेश सम्बन्ध सुदृढ गर्न र आर्थिक कूटनीतिको नयाँ बाटो खोल्न अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएकी छन्। काठमाडौंमा आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसीएन) को १८औँ वार्षिक साधारणसभा तथा ‘चार्टर डे’ समारोहलाई सम्बोधन गर्दै मन्त्री राणाले द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउन अवैतनिक वाणिज्यदूतहरूले खेलिरहेको भूमिकाको खुलेर प्रशंसा गरिन्।

उनले भनिन्, “नेपाल र यहाँहरूले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई आर्थिक, शैक्षिक, सांस्कृतिक र जनस्तरसम्म फैलाउन तपाईंहरूको योगदान अमूल्य छ। यो भूमिका केवल औपचारिक नभई साझा समृद्धिका लागि महत्वपूर्ण साझेदारीको रूपमा लिनुपर्छ।”

समारोहमा एचसीसीएनका डीन तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदूतहरूलाई नेपालको आर्थिक कूटनीतिको ‘सक्रिय साझेदार’ भन्दै प्रशंसा गरे। “हामी केवल सेरेमोनियल हैनौँ, हामी नेपालको विकास यात्रामा आत्मसाथ भएर लागिरहेका छौँ,” उनले भने।

 

उनले एचसीसीएनले परराष्ट्र मन्त्रालयसँग सहकार्यमा पहिलो पटक नेपालमै ‘आर्थिक सम्मेलन’ आयोजना गर्ने तयारीमा रहेको जानकारी पनि दिएका छन्। हालै चन्द्रगिरिमा आयोजित कार्यशालाको उल्लेख गर्दै ढकालले नवप्रवर्तन, पर्यटन, व्यापार, वैदेशिक लगानी तथा प्रवासी नेपालीहरूसँग सहकार्यमा वाणिज्यदूतहरूको योगदान महत्वपूर्ण हुने बताए।

समारोहमा संयुक्त राष्ट्रसंघका पूर्व उप महासचिव ज्ञानचन्द्र आचार्यले पनि विशेष मन्तव्य दिएका थिए। उनले नेपालको अन्तर्राष्ट्रिय छवि, बदलिँदो कूटनीतिक माग र विकासको समन्वयमा अवैतनिक वाणिज्यदूतहरू निर्णायक बन्न सक्ने बताए।

त्यसै अवसरमा एचसीसीएनका डीन चन्द्रप्रसाद ढकालले आफ्ना कार्यकालको जिम्मेवारी नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापालाई हस्तान्तरण गरे।

समारोहमा उच्च सरकारी अधिकारी, विभिन्न देशका राजदूत, अवैतनिक वाणिज्यदूत, कूटनीतिक पदाधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपालको कूटनीतिक प्राथमिकतामा नागरिक तहसम्म प्रभाव पार्ने गरी अवैतनिक वाणिज्यदूतहरूको भूमिकालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend