सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उद्यमी लंक बहादुर केसीको निधन

उद्यमी लंक बहादुर केसीको निधन

३ साउन ,काठमाडौं ।अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका, खिदिममा जन्मिएर जीवनका हरेक पाटोमा सफलता हासिल गरेका चर्चित उद्यमी लंक बहादुर केसीको ७० वर्षको उमेरमा निधन भएको छ। आज बिहान धादिङको गल्छीस्थित ‘बीच रिसोर्ट’मा आफ्नै कम्पनीको कामको सिलसिलामा पुगेका बेला  उनलाई अचानक हृदयघात भएको र त्यसकै कारण  उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

केसी केवल एक व्यवसायी मात्र होइनन्, उनी बहुआयामिक व्यक्तित्व थिए। जनता टेलिभिजनका अध्यक्षका रूपमा सञ्चार क्षेत्रमा योगदान दिएका उनले लुम्बिनी बिल्डर्सका कार्यकारी निर्देशकको रूपमा पूर्वाधार निर्माणमा उल्लेखनीय काम गरे। त्यसका साथै विभिन्न वित्तीय संस्थाहरू, सहकारी, शैक्षिक संस्था तथा सामाजिक संघसंस्थाहरूको स्थापनादेखि सञ्चालनसम्ममा सक्रिय भूमिका निर्वाह गरेका उनी एक असल योजनाकार, सादगीपूर्ण जीवनशैली अपनाउने, कर्मनिष्ठ उद्यमी थिए।

आर्थिक रूपले सम्पन्न भएर पनि अत्यन्त सरल, मिलनसार र सामाजिक सेवामा समर्पित रहेको केसीको व्यक्तित्वले धेरैको मन छोएको थियो। समुदाय र समाजमा उनको योगदान अतुलनीय रह्यो—कहिल्यै प्रचारको चाहना नगरी अनेक थरिका सामाजिक कार्यहरूमा सहयोग पुर्‍याउने उनी सच्चा नायक थिए।

हाल केसीको स्थायी बसोबास काठमाडौंको घट्टेकुलोमा थियो। सामाजिक क्षेत्र, व्यवसाय र सञ्चारमाध्यममार्फत समाजमा योगदान पुर्‍याएका केसीको निधनले समग्र अर्घाखाँची, लुम्बिनी र देशभरका शुभेच्छुक, व्यवसायिक समुदाय र आम नागरिकलाई स्तब्ध बनाएको छ। उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिन्छ। नेपालको उद्यमशीलता, सहकारी र सञ्चार क्षेत्रमा केसीको योगदान सधैं स्मरणीय रहनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend