सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शहरी जीवनको चाप र देशको गहिरिंदो संकट

शहरी जीवनको चाप र देशको गहिरिंदो संकट

राम प्रसाद गैरे,

१ साउन, काठमाडौं । आजको दिनमा नेपाली समाज विशेष गरी शहरी क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरू अत्यन्तै व्यस्त देखिन्छन्। तर यो व्यस्तता केवल कामको हैरानी मात्रै होइन, गहिरो मानसिक तनावको संकेत पनि हो। विशेषतः काठमाडौंजस्ता शहरहरूमा बस्नेहरूका लागि अहिलेको जीवनशैली महँगो मात्र होइन, बोझिलो पनि बन्दै गएको छ। आफूलाई र परिवारलाई सहज रूपमा पाल्न सक्ने अवस्था नरहेको धेरैको अनुभव हो। शहरमा बसोबास गर्ने तर आफ्नै घर वा जग्गा नभएका व्यक्तिहरू झनै बढी पीडित छन्। महिनाभरि कमाएको सम्पूर्ण पैसा कोठा भाडा र बालबालिकाको स्कुल फीमा खर्चिएपछि खानपान, औषधोपचार, लुगा–कपडाजस्ता आवश्यकतालाई पूर्ति गर्नु मुस्किल भइरहेको छ।

घरजग्गाको मूल्य अस्वाभाविक रूपमा बढेको छ, जसको सीधा असर भाडाको दरमा परेको छ। विशेषतः काठमाडौं उपत्यकाका अधिकांश भाडाका कोठाहरूको मासिक दर मध्यम वर्ग र न्यून आय भएकाहरूका लागि सहन नसक्ने अवस्थामा पुगेको छ। तर पनि शहरमा बस्ने चाहना धेरैको रहर मात्र होइन, बाध्यता पनि बनेको छ। गाउँहरूमा रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवाको अभावका कारण मानिसहरू शहरतिर पलायन भइरहेका छन्। यसैकारण गाउँहरू रित्तिंदै छन् भने शहरहरू जनसंख्याले खचाखच भरिँदै छन्।

अर्कोतर्फ, शहरका बजारहरूमा गतिविधि सुस्त हुँदै गएको छ। थुप्रै सटरहरू खाली छन्, थुप्रै पसल बन्द भएका छन्। यो दृश्यले स्पष्ट संकेत गर्छ— व्यापार र व्यवसाय चौपट हुँदै गइरहेका छन्। महँगी बढेको छ, तर आम्दानी स्थिर वा घट्दो छ। बेरोजगारी भयावह रूपमा बढ्दो छ, जसका कारण देशका युवा कामको खोजीमा बिदेशिन बाध्य छन्। स्वदेशमा सम्भावना नदेखिएपछि उनीहरू टाढा–टाढाका देशमा श्रम बेच्न जानु परेको छ।

यो परिस्थिति सामान्य छैन। आज नेपाल एउटा बहुआयामिक संकटको भुमरीमा फसेको छ। सामाजिक, आर्थिक र मानसिक तीनवटै दृष्टिकोणले मानिसहरू थकित र निराश छन्। राज्यको योजनाविहीन शहरीकरण, गरिबीको बढ्दो दर, मौकाको असमान पहुँच, र प्रणालीगत बेथिति मिलेर यो संकटलाई झनै गम्भीर बनाउँदै छन्। यदि आजैदेखि विकल्प, सुधार र दीर्घकालीन योजनाका साथ काम भएन भने, देशको भविष्य झन् अनिश्चित र जटिल बन्नेछ। त्यसैले अब नीति निर्माताले खाली तथ्यांक होइन, जनता भोगिरहेको वास्तविकता सुन्नु, बुझ्नु र सम्बोधन गर्नु अनिवार्य भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend