३१ असार, काठमाडौं ।लगातारको वर्षासँगै आएको पहिरो र खहरे खोलाको लेदोसहितको बाढीका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेका तीन स्थानमा सडक अवरुद्ध भएको छ। अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जानकारी दिएको छ।
जिल्लाको रोसी गाउँपालिका–११ स्थित माम्तीमा भेलसहितको बाढीले कटान गर्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो। यस्तै, रोसी–९ स्थित खहरे खोलाको लेदो आएर गएराति बाटो अवरुद्ध भयो। सोही वडाको बिरुवा डाँडामा पनि खहरे खोलाको लेदोले सडकमा अवरोध पुर्याएको सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए। उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास तीव्र रूपमा भइरहेको छ।
यसअघि पनि यही असार २५ गते मङ्गलटारको बिरुवा डाँडामा सडक अवरुद्ध भएको थियो। आइतबार साँझदेखि नै रोसी क्षेत्रका विभिन्न स्थानमा वर्षाका कारण खोलाबाट लेदो बग्न थालेपछि राजमार्गका विभिन्न खण्डमा सवारी आवागमन ठप्प बनेको थियो। तर, रातभर खटिएको डोजर (जेसिभी) टोलीको प्रयासपछि सोमबार बिहान दुईतर्फी यातायात पुनः सञ्चालनमा ल्याइएको थियो।
यसबाहेक, बीपी राजमार्गकै पिन्थली खण्डमा यस वर्ष मात्रै असार १६, २५ र २६ गते सडक अवरुद्ध हुने अवस्था आएको थियो। लगातारको वर्षा र कमजोर भूगर्भीय बनावटका कारण राजमार्ग क्षेत्रमा बारम्बार यस्ता समस्या देखिँदै आएका छन्।
प्रशासनले यात्रु र सवारी चालकलाई सतर्कता अपनाउन अनुरोध गर्दै वैकल्पिक मार्गको प्रयोग गर्न सुझाव दिएको छ। साथै, सडक सुचारु गर्नका लागि सुरक्षा निकाय, स्थानीय तह र निर्माण टोलीले संयुक्त प्रयास गरिरहेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend