२९ असार, काठमाडौं । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–६, खिल्जी रामकोट- बेलबोटका स्थायी निवासी धनिराम पोख्रेल र तुलसा पोख्रेलका जेठा छोरा प्रकाश पोख्रेलले बेलायतको प्रतिष्ठित एडिनबर्ग विश्वविद्यालय (University of Edinburgh) बाट विद्यावारिधि (PhD) अध्ययन सम्पन्न गरेका छन्। बेलायतको प्रख्यात विश्वविद्यालयबाट विद्यावारिधि हासिल गर्नु नेपालका युवाहरूका लागि एक प्रेरणादायी उपलब्धि हो भने सम्पूर्ण अर्घाखाँचीवासीका लागि पनि गर्वको विषय बनेको छ। सानैदेखि मेधावी, अनुशासित र मेहनती छात्रका रूपमा चिनिने प्रकाशले यो उपलब्धि केवल आफ्नो होइन, गाउँ र देशकै प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने गरी हासिल गरेका हुन्।
सामान्य गाउँबाट पढ्नको लागि बेलायतजस्तो उच्चशिक्षा र अनुसन्धानको केन्द्रसम्मको यात्रा सहज थिएन। तर, निरन्तर मिहिनेत, परिवारको सहयोग, र आत्मबलका साथ प्रकाशले जीवनको यो मोडसम्मको यात्रा तय गरेका छन्। विद्यावारिधि अध्ययन सम्पन्न गरेका प्रकाश पोख्रेलले अब नेपालमै फर्केर आफ्नो ज्ञान, सीप र अनुभव राष्ट्रसेवामा लगाउने घोषणा गरेका छन्। देश छाडेर विदेशमा बसेर कमाउने लालसाभन्दा पनि आफ्नै माटोमा केही दिने सोच राख्नु उनले राष्ट्रप्रेमका साँचो उदाहरण हुन् भन्ने प्रमाणित गर्छ।
उनको सफलता मात्र शैक्षिक उपलब्धिमा सीमित छैन, यसले ग्रामीण भेगका अन्य युवाहरूलाई पनि उच्चशिक्षा, अनुशासन र कर्तव्यबोधका माध्यमबाट सफलताको ढोका खोल्न सकिन्छ भन्ने आत्मविश्वास दिन सक्छ। प्रकाशका बुबाआमा धनिराम र तुलसा पोख्रेल लामो समयदेखि स्थानीयस्तरमा व्यापार व्यवसाय गर्दै आएका मेहनती र ईमानदार व्यक्तित्व हुन्। छोराको यो सफलताले उनीहरूको पनि श्रम र शिक्षामा गरेको लगानी सार्थक भएको छ।
गाउँका स्थानीयबासी र आफन्तजनले प्रकाशको यस ऐतिहासिक उपलब्धिलाई खुसीका साथ स्वागत गरेका छन्। गाउँघरमा विकास, शिक्षा र प्रेरणा फैलाउने यात्रामा प्रकाशको योगदान अझ गहिरो हुने विश्वास व्यक्त गरिएको छ। अहिलेको अवस्थामा, जब अधिकांश युवा विदेशमै बस्ने सपना देखिरहेका छन्, प्रकाशको नेपाल फर्कने निर्णय देशभक्तिका दृष्टिकोणले अत्यन्त महत्वपूर्ण र अनुकरणीय मानिएको छ।
उनको यस सफलता र देशफिर्तीको निर्णयले देशभित्रै अवसर सिर्जना गर्ने र ज्ञान–अनुभवको सच्चा प्रयोग आफ्नै माटोमा गर्न सकिन्छ भन्ने सन्देश दिन्छ। प्रकाश पोख्रेल आजका युवाहरूका लागि प्रेरणाको मूर्तिमान उदाहरण हुन्, जसले देखाए कि साँचो परिवर्तन आफ्नो घर, समाज र देशमा फर्किएर मात्र सम्भव हुन्छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend