भक्त केसी,
२५ असार, काठमाडौं । नेपालको संसदीय राजनीति दिनप्रतिदिन अस्थिर, स्वार्थप्रधान र शोबाजीको केन्द्र बन्दै गएको छ। सरकार परिवर्तनको तमासा, गठबन्धनको संख्यात्मक कसरत, पदको लोभ र व्यक्तिगत महत्त्वाकांक्षाले लोकतन्त्रको मूल मर्ममाथि नै गम्भीर चोट पुऱ्याइरहेको छ। आज संसद भनिने त्यो पवित्र मञ्च नीति निर्माण र तर्कपूर्ण बहसको थलो भन्दा बढी गालीगलौज, आरोप–प्रत्यारोप र व्यक्तिगत आक्रोशको अड्डा बनेको छ।
गैर-संसदीय शब्द र अमर्यादित व्यवहार—नयाँ सामान्य ?
विगतमा संसदमा गरिमामय भाषा, तथ्यमा आधारित बहस र सार्वजनिक सरोकारका विषय प्राथमिक हुने गर्थे। तर आज स्थिति त्यसको विपरीत छ। संसद अब मर्यादाहीन शब्द प्रयोग, कुर्सी हल्लाउने शैली र भीड उक्साउने अभिव्यक्तिको मैदान बनेको छ।
गम्भीर विषयहरूमा छलफल हुनुपर्ने बेला संसदका झ्याल–ढोकामा चर्का नाराहरू गुन्जिन्छन्, सांसदहरू माइक्रोफोन तान्न र मेच ठटाउन दौडन्छन्। यो दृश्य नेपाली जनताले मत हालेर पठाएको संसदको हो कि सडकमा उर्लेको जुलुसको—भिन्न्याउन कठिन भइसक्यो।
संसद अब नीति निर्माणको केन्द्र नभएर प्रदर्शनको रंगमञ्च बनेको छ।
राजनीतिक दलहरूका कार्यकर्ता यसैमा रमाइरहेका छन्। नेताहरूको गैर-जिम्मेवार बोलिका ताली बजाइन्छ, प्रतिपक्षलाई सिध्याउने प्रयासमा पार्टीगत भीड सक्रिय हुन्छ। यसरी संसद जनताको आवाज होइन, दलको आत्मप्रदर्शनको मञ्च बनेको छ।
संसद व्यक्तिगत रिसइवी देखाउने स्थान होइन।
संसद नीतिगत बहसको केन्द्र हो—जहाँ देशको दिशा निर्धारण गरिन्छ। तर आज त्यो मञ्चमा शब्दको गरिमा गुमेको छ। लोकतन्त्रको आचरणमा लाज लाग्दो ह्रास आएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend