सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल

चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल

२४ असार , काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण रहेकोले यसलाई सम्बोधन गर्न सावधानीपूर्ण मौद्रिक नीति आवश्यक रहेकोमा जोड दिएका छन् । नेपाल व्यवस्थापन संघले सोमबार ( २३ असार ) आयोजना गरेको प्रि-मनिटरी छलफल कार्यक्रममा बोल्दै गभर्नर पौडेलले साना तथा मझौला व्यवसायीहरूले भोगिरहेका समस्याप्रति केन्द्रीय बैंक पूर्ण रूपमा सचेत रहेको पनि बताएका छन् ।

गभर्नर पौडेलले वित्तीय नीति (फिस्कल पोलिसी) र मौद्रिक नीतिबीचको भिन्नता बुझ्न सरोकारवालालाई आग्रह गरेका छन्। धेरैले वित्तीय नीतिले सम्बोधन गर्ने विषयहरूमा पनि राष्ट्र बैंकले समाधान गरोस् भन्ने अपेक्षा राखेको भन्दै उनले राष्ट्र बैंकको मुख्य भूमिका ऋण प्रवाहको व्यवस्थापन र निक्षेपकर्ताको पैसाको सुरक्षा सुनिश्चित गर्नु रहेको बताए। ‘अनुदान वा प्रत्यक्ष सहायता दिनु राष्ट्र बैंकको मुख्य कार्य होइन,’ गभर्नर पौडेलले भने, ‘वास्तवमा, हामीले केवल ऋण प्रदान गर्छौं। हाम्रो प्रमुख जिम्मेवारी भनेको बैंकका निक्षेपकर्ताहरूको पैसा सुरक्षित रूपमा सही ठाउँमा पुगेको छ कि छैन भनी सुरक्षाको सुनिश्चितता हेर्नु मात्र हो।’

गभर्नरले कसैलाई कुनै भुक्तानी, स्रोत, वा सुविधा दिन सक्ने कुराहरू वित्तीय नीतिले निर्धारण गर्ने विषय भएको र यो भिन्नतालाई स्पष्ट रूपमा महसुस गर्नुपर्नेमा जोड दिए। ‘वर्तमान आर्थिक स्थिति त्यति ठीक छैन, र धेरै व्यवसायीहरूले समस्या भोगिरहेका छन् भन्ने कुरामा हामी पूर्ण रूपमा सचेत छौं,’ गभर्नर पौडेलले थपे, ‘यस अवस्थालाई मध्यनजर गर्दै, सावधानीपूर्ण मौद्रिक नीति (केयरफुल पोलिसी) निर्माण गर्नुपर्छ भन्ने कुरा हामीले महसुस गरेका छौं।’

कार्यक्रममा व्यवस्थापन संघका अध्यक्ष मोहन ओझाले व्यवसायिक वातावरण निर्माण हुने गरि मौद्रिक नीति ल्याउन सुझाव दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend