बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

‘हिन्दू जीवन दर्शन’ विषयक उदबोधन कार्यक्रम काठमांड़ौमा सम्पन्न

‘हिन्दू जीवन दर्शन’ विषयक उदबोधन कार्यक्रम काठमांड़ौमा सम्पन्न

 

काठमाडौ , असार १४ – सीमा जागरण मंचका अखिल भारतीय सदस्य तथा इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालयका प्राध्यापक डा. चित्रेश सोनीको प्रमुख उपस्थितिमा “हिन्दू जीवन दर्शन” विषयक एक भव्य उदबोधन कार्यक्रम आज काठमांड़ौमा सम्पन्न भएको छ।

हिन्दू सभ्यता, दर्शन र वर्तमान विश्व सन्दर्भमा यसको प्रयोगात्मक पक्षबारे व्यापक छलफल भएको उक्त कार्यक्रममा विभिन्न सामाजिक, राजनीतिक तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गरेका थिए। अध्यक्ष यादवले आफ्नो सम्बोधनमा हिन्दू जीवन पद्धति केवल धर्मिक अभ्यास मात्र नभइ सामाजिक सद्भाव, वैज्ञानिक सोच, र मानवीय मूल्यको मार्गदर्शक भएको उल्लेख गर्दै अभियानले सञ्चालन गर्दै आएका राष्ट्रहितका कार्यक्रमहरूलाई सशक्तरूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए।

प्रमुख अतिथिका रूपमा उपस्थिति रहेका पूर्व मन्त्री रामेश्वर राय यादवले हिन्दू दर्शनलाई नेपाली समाजको नैतिक मेरुदण्डका रूपमा चित्रण गर्दै अहिलेको राजनीतिक, सामाजिक अन्यौलताका बीच यो दर्शनले मार्गदर्शन गर्ने बताएका थिए । उनले हिन्दू जीवन पद्धति र राष्ट्रवादको अन्तर्सम्बन्धबारे आफ्नो गहिरो दृष्टिकोण प्रस्तुत गरे ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा माननीय रुक्मिणी चौधरी, जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष इन्जिनियर दीपक साह, सह-प्राध्यापक संजय पटेल, सम्पादक दिनेश डीसी, र अन्य सामाजिक अगुवाहरूले मन्तव्य राख्दै हिन्दू दर्शनको वैज्ञानिकता, विश्व स्वीकार्यता, र युवा पुस्तामा यसको पुनर्जागरणको आवश्यकताबारे जोड दिएका थिए ।

स्वागत मन्तव्य चन्द्र यदुवंशीले गरेका थिए भने कार्यक्रमको उद्देश्य, डा. सोनीको योगदान र अभियानको वर्तमान गतिविधिबारे संक्षेपमा जानकारी गराईएको थियो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय एकता अभियानका युवा विभाग संयोजक दिवस पटेलले गरेका थिए । संयोजक पटेलले हिन्दू दर्शनमाथि युवाहरूको बढ्दो आकर्षण र यसलाई व्यावहारिक शिक्षाका रूपमा स्थापित गर्न अभियानले लिएको रणनीति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अभियानका केन्द्रीय सदस्य लक्ष्मी ज्ञावली, रीता साह, कलानन्द मिश्र, जय नारायण यादव, धर्मेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो। सभाहल विचार विमर्श र भावनात्मक अभिव्यक्तिले भरिएको थियो जहाँ उपस्थित सहभागीहरूले हिन्दू जीवन पद्धतिको बारेमा जानकारी हासिल गर्ने अबसर प्राप्त गरेको थिए ।

यस कार्यक्रमले हिन्दू जीवन दर्शनप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकताको सन्देशसमेत प्रवाह गरेको सहभागीहरूको धारणा थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend