१२ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियाले विकासमा हासिल गरेको तीव्र फड्कोमा नेपाली श्रमिकहरूको योगदान रहेको बताएका छन्। ललितपुरमा बिहीबार आयोजित “हामी एप” सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले केवल आफ्नो परिवारको मात्र होइन, गन्तव्य मुलुकहरूको समग्र आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
उनले भने, “छोटो समयमा नै कोरियाले फड्को मारेको छ, त्यसमा नेपाली कामदारहरूको समेत योगदान छ। ती देशहरूले नेपालीको पसिनाको कदर गर्नुपर्छ।” मन्त्री भण्डारीले नेपाली श्रमिकले विदेशमा आफ्नो रगत र पसिना बगाएर अरूको देश समृद्ध बनाइरहेको उल्लेख गर्दै, ‘हाम्रा श्रमिक सम्मानका पात्र हुन्’ भन्ने भाव व्यक्त गरे।
कार्यक्रममा मन्त्री भण्डारीले नेपाली श्रमिकलाई गन्तव्य मुलुकमा स्थानीय नागरिकसरह सेवा, सुविधा र पारिश्रमिक मिल्नुपर्ने धारणा राखे। सुरक्षित आप्रवासनको सुनिश्चितता र श्रमिकको हक–हितका लागि सरकारले निरन्तर पहल गरिरहेको भन्दै उनले विभिन्न गन्तव्य देशहरूसँग द्विपक्षीय श्रम सम्झौता हुँदै गएको जानकारी दिए।
कोरियाली श्रम प्रणाली, सीप, प्रविधि र अनुशासन नेपालको लागि अनुकरणीय भएको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, “नेपाली श्रमिकले विदेशमा सिकेको सीप, अनुभव र पुँजी नेपालमै प्रयोग गरेर राष्ट्र समृद्ध बनाउनुपर्ने हो।”
त्यस्तै, उनले वैदेशिक रोजगारीसँग सम्बन्धित नीति तथा संरचना पुनर्संरचना गर्दै श्रमिकमैत्री बनाउने दिशामा मन्त्रालयले काम गरिरहेको बताए।
कार्यक्रमको समापनमा मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली श्रमिकप्रति समान व्यवहार सुनिश्चित गर्न नेपालले बलियो आवाज उठाइरहेको उल्लेख गर्दै, अबको नीति सुरक्षित, मर्यादित र अधिकारसम्पन्न आप्रवासन सुनिश्चित गर्नुमा केन्द्रित रहने स्पष्ट पारे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend