१ असार, काठमाडौँ । अर्घाखाँची जिल्लाको भु. न.पा –६ खिल्जी गाडाकोटका भोजराज दमासे, यतिबेला गाउँघरमै बसेर आत्मनिर्भर जीवन बाँचिरहेका उदाहरणीय पात्र हुन्। अधिकांश नेपाली युवायुवती वैदेशिक रोजगारलाई नै समृद्धिको बाटो ठानिरहेका बेला दमासेले भने गाउँमै रहेर पनि सफल र आत्मसम्मानित जीवन जिउन सकिन्छ भन्ने सन्देश दिएका छन्। दुहुना भैसी, बाख्रा, पाठा र मौरीपालनदेखि लिएर खेती किसानीमा समेत सक्रिय रहेका दमासेले वर्षेनि झण्डै १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। यो आम्दानी उनको मेहनत, लगनशीलता र सही सोचको प्रतिफल हो।
उनले आफ्नो परिवारलाई गाउँमै बसेर सुखी बनाएका छन्। छोराछोरीलाई राम्रो विद्यालय र कलेजमा पढाएका छन्। उनका छोरा सरकारी जागिरमा कार्यरत छन् भने परिवार सानो र सुसंस्कृत देखिन्छ। गाउँमा बसेर केही हुन सक्दैन भन्ने सोचलाई उनले गलत सावित गरेका छन्। उनले न केवल आर्थिक रूपमा आत्मनिर्भर जीवन बाँचिरहेका छन्, बरु अरूलाई पनि गाउँमै केही गर्न सकिन्छ भन्ने प्रेरणा दिएका छन्। उनले जसरी आफ्ना पशुपालन र कृषि व्यवसायलाई आयआर्जनको माध्यम बनाएका छन्, त्यसले अरू किसानका लागि पनि नयाँ दृष्टिकोण प्रस्तुत गर्छ।
दमासे राजनीतिमा पनि सक्रिय छन्। राप्रपा पार्टीका जिल्ला तहका नेताको भूमिकामा रहेका उनी गाउँ र जनताको समस्यालाई राज्यसम्म पुर्याउने जिम्मेवारीमा पनि सहभागी छन्। राजनीति र व्यवसायलाई सन्तुलनमा राखेर अघि बढिरहेका दमासेले गाउँमा बस्दा पनि देश र समुदायका लागि योगदान दिन सकिन्छ भन्ने प्रमाण दिएका छन्। राजनीतिलाई सेवा र जागरूकताको माध्यम बनाउँदै, उनले समुदायमा सकारात्मक छाप छोडेका छन्।
उनले गाउँमै मौरीपालनलाई पनि आयआर्जनको स्थायी स्रोत बनाएका छन्। पहाडी क्षेत्रको जलवायु र बनस्पतिक विविधता मौरीपालनका लागि उपयुक्त भएकाले उनले मौरीपालनलाई निरन्तरता दिँदै आएका छन्। एकातर्फ स्वास्थ्यकर मह उत्पादन हुन्छ भने अर्कातर्फ नगदे आम्दानी पनि राम्रो हुन्छ। दमासे भन्छन्, “मिहिनेत गरेर पैसा कमाउन विदेश जानैपर्दैन। यहाँ आफ्नै खेत–बारी बाँझै छन्।” उनको यो भनाइमा गाउँघरको यथार्थ टल्कन्छ—जहाँ समृद्धिको बीउ आफ्नै माटोमा भए पनि मानिसले बाहिर खोजिरहेका छन्

उनका अनुसार गाउँमा आधारभूत पूर्वाधार क्रमशः विस्तार भइरहेका छन्। विकासका काम अगाडि बढिरहेका छन्, तर मुख्य समस्या भनेको युवाशक्ति नै हो। गाउँमा युवाहरूको कमीका कारण समस्या देखिएको उनले बताए। खासगरी बिरामी परेका बेला अस्पतालसम्म पुर्याउन गाह्रो पर्ने, कामदारको अभावमा खेती रोप्न, गोड्न, थन्क्याउन गाह्रो हुनेजस्ता समस्याले गाउँको जनजीवन प्रभावित बनिरहेको छ। यो समस्या उनले देखेका मात्र होइनन्, आफ्ना प्रयासले समाधानको बाटो पनि देखाउन खोजेका छन्।
दमासेले देखाएका यस्ता जीवनशैली र काम गर्ने ढाँचाले युवालाई सन्देश दिन्छ—स्वदेशमै काम गर्न सकिन्छ, बसाइँ सर्नु, दुःख पाइने ठाउमै जानु विकल्प होइन। आज जब धेरै युवाहरू विदेशी भूमिमा शारीरिक श्रम बेचेर थोरै पैसा कमाइरहेका छन्, दमासेले भने स्वदेशमै रहेर सम्मानसाथ, माटोमाथि टेक्दै, आफ्नो भविष्य निर्माण गरेका छन्। यसले गाउँ र देशलाई पनि जोगाउँछ, अनि परिवारलाई पनि सँगै राख्छ।
भोजराज दमासे जस्ता व्यक्ति देशको लागि गहना हुन्। उनीहरूले देखाएका बाटोहरूले नेपालजस्ता कृषि प्रधान देशमा बेरोजगारीको समाधान दिन सक्छ। सरकार र स्थानीय निकायले यस्ता किसान–उद्यमीहरूलाई प्रोत्साहन गर्न सके, कृषि पर्यटनदेखि गाउँ पर्यटनसम्मको विकास गर्न सकिन्छ।
आज हामीलाई भोजराज दमासे जस्ता अनुकरणीय व्यक्तित्वहरूको कहानी सुनाउने मात्र होइन, तिनको मार्ग पछ्याउने आवश्यकता छ। देशभित्रै अवसर छन्, माटोमै शक्ति छ, अनि आफ्नै खुट्टामा उभिने सम्भावना पनि यहीँ छ—केवल दृष्टिकोण बदल्न जरुरी छ। दमासेको जीवनले यही सन्देश दिन्छ—गाउँमै बसेर मिहिनेत गर्यो भने, सपना केवल शहर र विदेशमा होइन, आफ्नै आँगनमा पनि फुल्न सक्छ। प्रस्तुती राम प्रसाद गैरे (आरपी)
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend